जन्मदिनमा श्रीदेवीको सम्झना !

 साउन २८, २०७५ सोमबार १६:३:३४ | एजेन्सी
unn.prixa.net

हिन्दी सिनेमा जगतकी पहिलो फिमेल सुपस्टार श्रीदेवीको आज ५६ औँ जन्मदिन हो तर दुर्भाग्य उनी आफ्नो जन्म दिन मनाउन यो धर्तीमा छैनन् । आज उनको जन्मदिनको अवसर पारेर सम्पूर्ण बलिउड जगत तथा हिन्दी फिल्मका पारखीहरु उनलाई सम्झिरहेका छन् । 

१३ अगस्त १९६३ मा आजकै दिन श्रीदेवीको जन्म शिवकासी, तमिलनाडु, भारतमा भएको थियो । उनका पिता एक वकिल थिए । १९६७ मा रिलिज भएको तमिल फिल्म ‘कांदान करुनाई’ मार्फत अभिनयको सुरुवात गरेकी श्रीदेवी त्यती बेला मात्र चार वर्षकी थिइन् । 

थुप्रै बलिउड र टलिउड फिल्महरुमा बाल कलाकारका रुपमा काम गरिसकेपछि श्रीदेवीले पहिलो पटक १९७६ मा रिलिज भएको तमिल फिल्म ‘मोन्द्रु मुदिचु’मा लिडिङ रोलमा अभिनय गर्ने अवसर प्राप्त गरिन । 

आफ्नो करियरको सुरुवातमा थुप्रै दक्षिण भारतीय फिल्महरुमा अभिनय गरेकी श्रीदेवीको पहिलो बलिउड फिल्म ‘सोलवा सावन’रहेको थियो जुन १९७९ मा रिलिज भएको थियो । त्यसको चार वर्षपश्चात जितेन्द्रसँग उनको फिल्म ‘हिम्मतवाला’ रिलिज भयो जुन त्यो समयमा निकै सुपरहिट भएको थियो र त्यही फिल्मले श्रीदेवीलाई बलिउडमा स्थापित पनि गरायो । 

‘हिम्मतवाला’ हिट भएपछि जितेन्द्र र श्रीदेवीको जोडी लाई बलिउडमा निकै सफल जोडी मानिन थाल्यो र यो जोडीले पछि संगै १६ वटा फिल्महरुमा काम पनि गर्‍यो । श्रीदेवीले आफ्नो जिवनमा बलिउडमा निकै सफल फिल्महरु दिएकी छिन् र हरेक पात्रलाई निकै सहज र सफल रुपमा पर्दामा जिवन्त पारेकी छिन् ।

१९९६ मा फिल्म निर्माता बोनी कपूरसँग विवाहपश्चात १९९७ मा उनको फिल्म ‘जुदाई रिलिज भयो जुन निकै हिट भएको थियो । विवाहपश्चात श्रीदेवी फिल्मबाट निकै समय टाढा भइन् र पारिवारिक जीवनमा बाँधिइन् । 

श्रीदेवीका दुई छोरीहरु जान्हवी र खुशी छन । जसमध्ये जान्हवीको डेव्यू फिल्म ‘धडक’ केही समय अगाडि रिलिज भइसकेको छ । 

आफ्नो अभिनय यात्राको पहिलो इनिङ्गबाट सन्यास लिएकी श्रीदेवी सन २०१२ मा रिलिज भएको  सुपरहिट फिल्म ‘इङ्गलिस विङ्गलिस’बाट बलिउडमा पुनः फिर्ता भइन् । आफ्नो दोश्रो इनिङ्गमा समेत निकै सफल देखिएकी श्रीदेवीको अन्तिम फिल्म भने शाहरुख खानसँग ‘जिरो’ हुन पुग्यो जुन यसै वर्षको अन्तमा रिलिज हुँदैछ ।

२४ फेब्रुवरी २०१८ मा दुबईको एक होटेलको टबमा मृत अवस्थामा भेटिएकी उनको मृत्युलाई एक ‘एक्सिडेन्टल डेथ’ मानिन्छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया