बिरामीको उपचारमा लापरबाही गर्नेलाई जन्मकैद हुने

 साउन २९, २०७५ मंगलबार ७:५३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - बिरामीको उपचारमा लापरबाही गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीलाई कडा कार्बाही हुने भएको छ । भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिता ऐनले जन्मकैद हुनेसम्मको व्यवस्था गरेको छ । डाक्टरहरुले यो व्यवस्थाप्रति असहमति जनाएका छन् । उनीहरुले ऐन संशोधन नभए बिरामीको उपचार नगर्ने चेतावनी पनि दिएका छन् ।

ऐनमा कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गरी ज्यान लिएमा ज्यान मारे सरह सजाय हुने उल्लेख छ । त्यस्तै एक किसिमको उपचार गर्नुपर्नेमा अर्कै उपचार गरी ज्यान गएमा पनि त्यही सजाय हुनेछ । कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जान्दाजान्दै त्यस्तो औषधि खुवाउनेलाई पनि सजाय हुने उल्लेख छ ।

यस्तो औषधि खान सिफारिस गर्नेलाई पनि जन्मकैदको सजाय हुने व्यवस्था छ । त्यस्तै कुनै एक अंगको चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्नेलाई र त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्ने र गराउनेलाई पनि जन्मकैदको सजाय हुने व्यवस्था छ ।

यस्तै लापरबाही र हेलचेक्रयाइँ गरेर कसैको उपचार गर्दा ज्यान गए वा अंगभंग भए सजायको व्यवस्था गरिएको छ ।

लापरबाहीबाट ज्यान गएमा वा कसैको अंगभंग भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ भने हेलचेक्रयाइँबाट यसो हुन गएमा तीन वर्षसम्म कैद २० हजार रुपैयाँसम्म जरिवाना हुने भनिएको छ ।

त्यस्तै मञ्जुरीबिना मानव शरीर परीक्षण गर्ने चिकित्सकलाई पनि तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था नयाँ ऐनमा छ ।
नयाँ व्यवस्था अनुसार रगत, खकार, पिसाब इत्यादिको प्याथोलोजिकल परीक्षण गर्दा झूटो विवरण दिने चिकित्सक वा स्वास्थ्यकर्मीलाई ३ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्मको जरिवाना हुने उल्लेख छ ।

यस्तो झूटा विवरणका आधारमा औषधि खाँदा कसैको ज्यान गएमा  सम्बन्धित डाक्टर वा स्वास्थ्यकर्मीलाई जन्मकैदकै सजाय हुनेछ ।

यो ऐनले डाक्टरलाई अपराधीको व्यवहार गरेको भन्दै नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि सबै डाक्टरले एप्रोन र प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने चेतावनी दिएको छ । 

सोमबार विज्ञप्ति निकालेर संघले उपचारको क्रममा कुनै त्रुटी हुन गएमा पनि चिकित्सकलाई अपराधीसरह कारबाही हुने व्यवस्था गरिएको भन्दै आपत्ति जनाएको छ । 

संघले चिकित्सक पेशाको इज्जत राखिदिन पनि सरकारसँग आग्रह गरेको छ । यो व्यवस्था नसच्चिएसम्म कुनै पनि चिकित्सकले बिरामीको उपचार गर्न नसक्ने संघको चेतावनी छ ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Khim bahadur khatri

    Aug. 14, 2018, 8:47 a.m.

    अनि औषधि उपचार गर्दा डाक्टरले ग्यारेन्टी लिने कि नलिने मैले दुई पटक एउटै कानको अप्रेसन लुम्बिनी अञ्चल अस्पताल बाट गरे तर निको भयन बरु झन समस्या आएको छ ।पुन डाक्टरलाई देखाउँदा औषधि दिन्छ पठाउँछ ।विषको उन्नीस हुदैन । कान पाक्ने समस्याले एकदम पीडित छु ।गरिबीको दुखी भन्दा पनी रोगीको दुखी समस्या कसले बुझाइदिन्छ॥॥॥

  •  0 Reply

तपाईको प्रतिक्रिया