नेकपा सचिवालय बैठक आउँदाे २० गतेसम्मका लागि स्थगित

 मंसिर १७, २०७७ बुधबार १५:७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार केही बेर बसेर स्थगित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा केही बेर छलफल गरेर बैठक सकिएको छ ।

अब अर्को बैठक २० गते शनिबार दिउँसो १ बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले एकअर्कालाई आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि विवाद हुँदै आएको छ । मङ्गलबारकाे बैठकमा पनि दुई अध्यक्षबीच चर्काचर्की परेको थियो ।

प्रधानमन्त्री ओली बैठक नै नबस्ने पक्षमा हुनुहुन्छ तर अन्य सचिवालयका सदस्यले भने दुवै अध्यक्षको प्रस्ताव सचिवालयसहित अरू बैठकमा छलफल हुनुपर्ने धारणा राख्दै आएका छन् ।

मङ्गलबारकाे बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ । मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो । कार्यकारी अध्यक्षको प्रस्तावलाई लिएर ओली असन्तुष्ट बन्नुभएको छ । प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्नुको औचित्य नभएको ओलीले बताउदै आउनुभएको छ भने प्रस्तावबारे निर्णय गर्ने अधिकार पार्टी बैठकको रहेकोले फिर्ता नगर्ने अडान प्रचण्डको छ ।

सबै समस्याको समाधान बैठकमार्फत खोज्नुपर्नेमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत सचिवालय सदस्यहरूको अडान रहेको छ ।     

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया