जाडोमा कोरोनाको जोखिम झन् बढी, यी कुरामा ख्याल गरौँ

 मंसिर १८, २०७७ बिहिबार ९:४२:३ | डा. वासुदेव पाण्डे
unn.prixa.net

जाडो समयमा अरु रोगसहित कोरोना भाइरसको जोखिम पनि बढी हुन्छ ।  सामान्यतया गर्मीबाट जाडो मौसममा प्रवेश गर्दा शरीरको रोगसँग लड्न सक्ने क्षमता कमजोर हुन्छ ।  वृद्धवृद्धा, बालबालिका दीर्घरोगी तथा अरु विभिन्न खालका रोग भएका व्यक्तिहरु धेरै प्रभावित हुने गर्छन् । 

जाडो मौसममा खासगरी कोरोनासँगै मौसमी फ्लू, पखाला लगाउने रोटा भाइरस लगायतका भाइरसहरु सक्रिय हुने गर्छन् । यिनीहरु गर्मीको तुलनामा जाडोमा लामो समयसम्म बाँच्न सक्ने हुन्छन् । यी कारणले गर्दा जोखिम  बढेर जाने सम्भावना बढी हुन्छ ।

गएको दुई हप्तायता नेपालमा  कोरोना संक्रमितको सख्या घट्दै गएको छ । तर मृत्युदर भने बढ्दै गएको छ ।  दुई हप्ता यताको तथ्याङ्क हेरेर जाडोमा कोरोनाको संक्रमण घटेर जाला वा कन्ट्रोल होला भन्न सकिँदैन। 

दमका रोगी, सुत्केरी, गर्भवती तथा क्यान्सरका बिरामीलाई जाडोको बेला झन् बढी समस्या हुन सक्छ ।  यो समयमा फ्लूको पनि जोखिम हुन्छ । मानिसहरु जाडो छल्न हिटर बालेर बस्ने, झ्याल ढोका बन्द गर्ने गर्छन् । यसले गर्दा श्वासप्रश्वासमा  समस्या हुन सक्छ । यी कारणले पनि मृत्युदर बढेको हुन सक्छ । त्यसैले संक्रमण दर घटे पनि मृत्युदर बढिरहेको छ । 

हुन त  पहिला भर्ना भएर बसेका बिरामीहरुको ज्यान गएकाले मृत्युदर बढेको हो ।  केही समयमा मृत्युदर घटेर पनि जान सक्ला ।  तर पनि कोरोना भाइरस नयाँ भएकाले सबै कुरा भन्न सकिँदैन । अमेरिका, बेलायत तथा युरोपका विभिन्न देशहरुमा एकपटक संक्रमण दर घटेर जाने भए पनि फेरि बढेको प्रशस्तै उदाहरण छन् ।  नेपालमा खोपको उपलब्धता तुरुन्तै हुन सक्ने अवस्था छैन । त्यही भएर केही समय अझै कोरोनाका बिरामी बढ्न सक्छन्. । 

पहिलादेखि नै निमोनियाका समस्या भएमा फ्लूको भ्याक्सिन लगाउँदा राम्रो हुन्छ । कोठामा बस्दा झ्याल ढोका खोलेर बस्ने, घाम छिर्ने ठाउँमा बस्ने, सरसफाइमा ध्यान दिने र सुरक्षा सावधानी अपनाएमा मृत्युदर र संक्रमण दर कम गर्न सकिन्छ ।  

खासगरी दीर्घरोगी, बुढापाका, मुटुका रोगी, दमका बिरामी,  क्यान्सरका बिरामी, मिर्गौलासम्बन्धी समस्या भएकाहरु, सुत्केरी, गर्भवती बढी जोखिममा पर्ने देखिन्छ । ब्लडप्रेसरका बिरामीलाई भने जोखिम समूहमा लिन सकिँदैन । किनभने अहिले हरेक घरमा ब्लडप्रेसरका बिरामी छन् । तर पनि केही खालका यस्ता व्यक्तिहरु संक्रमणको जोखिममा हुने गर्छन् ।

अहिलेको अवस्थामा बालबालिकामा संक्रमणको जाखिम भए पनि मृत्युदर त्यति छैन । नेपालमा मात्र नभएर  अन्तर्राष्ट्रिय स्तरमा बालबालिका धेरै जोखिममा छैनन् । यसको विभिन्न कारण हुन सक्छन्, त्यो भने खोज्न बाँकी नै छ । 

सावधानीका उपाय निरन्तर अपनाउनुपर्छ । सकेसम्म घरबाट बाहिर निस्कनु हुँदैन । निस्कनै परेमा उचित रुपमा मास्कको प्रयोग गर्ने तथा दूरी कायम गर्ने कुरालाई ख्याल गर्नुपर्छ ।  पछिल्लो समय स्कुल तथा कलेज खुल्न थालेका छन् । अब बिस्तारै चर्च तथा मन्दिरहरु पनि खुल्न थाल्छन् । त्यस्ता ठाउँमा जाँदा विषेश ध्यान दिनुपर्छ । अहिले होटल तथा रेस्टुरेन्टमा स्वास्थ्य मापदण्ड पालना गरेको देखिँदैन ।

सार्वजनिक गाडी चढ्दा पनि ध्यान दिनुपर्छ ।  माइक्रो तथा टेम्पोमा चढ्दा झनै ख्याल गर्नुपर्छ । स्पेस कम हुने भएकाले कोरोना सर्ने जोखिम बढी हुन्छ । अबका दिनमा अस्पतालहरुमा अक्सिजनको मात्रा बढाउन आवश्यक छ । कतिपय व्यक्तिहरुले अक्सिजनको कमीका कारण पनि ज्यान गुमाएको पाइएकाले  अक्सिजनको राम्रो व्यवस्थापन आवश्यक छ । बिरामीको समयमा उपचार भयो भने मृत्युदर कम गर्न सहयोग पुग्छ  । र हामी पनि जोखिमबाट बच्न सक्छौँ । 
(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेसँग जानुका दुवाडीले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख ६, २०८१

डा. वासुदेव पाण्डे

डा. पाण्डे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया