नारायणगढ–मुग्लिन सडक : तोकिएको मिति सकियो, १० प्रतिशत काम बाँकी

 जेठ १६, २०७५ बुधबार १०:२६:२३ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन, जेठ १६ – मुग्लिन–नारायणगढ सडकखण्डको सडक विस्तारका लागि तोकिएको मिति बुधबार सकिएको छ । पछिल्लोपटक तोकिएको मितिअनुसार आज निर्माण सक्नुपर्ने थियो । तर १० प्रतिशत काम अझै बाँकी छ ।

आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार पहिलो खण्ड आँपटारीदेखि दासढुंगासम्मको क्षेत्रमा ८९ दशमलव ६ प्रतिशत, दोस्रो खण्ड दासढुंगादेखि सिमलतालसम्म ९७ प्रतिशत र तेस्रोखण्ड सिमलतालदेखि मुग्लिनसम्म ८४ प्रतिशतकाम सकिएको छ ।

पहिलो अर्थात् आँपटारीदेखि दासढुंगासम्मको ठेक्काबीएलए–एससीसी, दोस्रो दासढुंगादेखि सिमलतालसम्मको उडहिल लामा र सिमलतालदेखि मुग्लिनसम्मको ठेक्का सुप्रिम रौताहा जेभीले लिएको छ ।

तेस्रो चरणको कालोपत्रे बाँकी

डन्स विटुमिन मेकाडेम डीबीएम–१ र डीबीएम–२ ६र६ सेन्टीमिटरको रहने छ । सबै क्षेत्रमा पिच भएपछि पिचमाथि ४ इन्चको बीसी राखिने इन्जिनियर शिव खनालले बताउनुभयो । दुई तहको पिचपछि थप ४ इन्चको बीसी राखेर सडकलाई थप बलियो बनाइने छ ।

नारायणगढ मुग्लिन सडकखण्डमा तीन तहको कालोपत्रे हुनेछ । हालसम्म ३२.२ किमी सडकपहिलो र दोस्रो चरणको पिचको काम सकिसकेको छ । दोश्रो खण्डमा तीन तहकै कालोपत्रे गर्ने काम सकिएको खनालले जानकारी दिनुभयो । पहिलो खण्ड र तेश्रो खण्डले दोस्राे तहको कालोपत्रे सकेका र तेस्राे तहको कालोपत्रे आजदेखि सुरु गर्न लागेको खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार मुग्लिन बजारनजिक रहेको २ नम्बर पुलदेखि चेपाङ डाँडासम्मको सडक क्षेत्र मात्र अब पिच गर्न बाँकी छ । बाँकी रहेको एक किलोमिटर क्षेत्रमा पनि अहिले ब्ल्याकटपका लागि आधार तयार पार्ने काम धमाधम भैरहेको उहाँले जानकारी दिनुभयो ।

मुग्लिन नजिकै रहेको चेपाङ डाँडामा सडक विस्तार गर्न अझै समय लाग्ने हुनाले सडक छेउको भागमा एंकर विधिबाट काम भैरहने जानकारी दिँदै खनालले बीचको भाग भने यातायात सहजताका लागि पिच सक्ने गरी काम भैरहेको बताउनुभयो ।

फेरि समय थपिने तयारी

विसं २०७२ वैशाखतिर २४ महिनामा सक्ने गरी सडक बनाउन ठेक्का दिइएको थियो । जेठ १६ गते भित्र निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने गरी चौथोपटक समय थपिएको थियो । ३३ किलोमिटर सडकखण्ड निर्माणका लागि तीन वटा निर्माण कम्पनीले काम गरिरेका छन् । अन्तिम अवस्थामा फेरि निर्माण कम्पनीले समय अपुग भएको भन्दै थप समय माग गरेका छन् ।

पानी परेको, बन्द भएको, सडक जामका कारण काम गर्न नपाएको, काम थपिएको र पहिले थप मागेअनुरुप समय नपाएकाले मिति थप गर्नुपर्ने कारण देखाउँदै निर्माण कम्पनीले थप समय माग गरेका हुन । तीनवटै निर्माण कम्पनीको समय सकिएको जानकारी दिंदै आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले समय थपका लागि विभागमा छलफल भइरहेको बताउनुभयो ।

पछिल्लो पटकको  मिति थप हुँदा दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय दिईएको थियो । तेस्राे खण्डको समय बाँकी रहेपनि थप समय माग गर्ने कुरा भइरेको रेग्मीले बताउनुभयो ।

लागत मूल्य बढ्यो

निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत मूल्य ३१ करोड ५२ लाख छ हजार १८१ रुपैयाँले बढेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख बिसुरालका अनुसार सुरुमा दुई अर्ब ८८ करोड ७० लाख १४ हजार २१० मा ठेक्का दिइएको सडकको लागत मूल्य बढेसँगै तीन अर्ब २० करोड २२ लाख २० हजार ३९१ रुपैयाँ पुगेको छ ।

तीन भागमा विभाजन गरेर ठेक्का दिइएको सडकखण्डको पहिलो खण्डको झन्डै ६० करोड ६१ लाखबाट बढेर करिब ६८ करोड ९७ लाख रुपैयाँ पुगेको छ । दोस्राे खण्डमा झन्डै ९७ करोड ६७ लाखबाट बढेर झन्डै एक अर्ब १० करोड र तेस्राे खण्डमा सबैभन्दा बढी एक अर्ब ३० करोडबाट बढेर झन्डै एक अर्ब ४१ अर्ब रुपैयाँ पुगेको उहाँले बताउनुभयो ।
 
एक वर्षभन्दा बढी समय थपिनु, निर्माण सुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु र कतिपय अत्यावश्यक काम थपिनु लगायतका कारण लागत मूल्य बढेको हो । आयोजना अन्तर्गत सडक निर्माणमा भित्तो कटाइ, पहिरो पन्छाइ, पर्खाल लगाउने काम, बोलपत्रभन्दा स्तरीय नाली निर्माण र कालोपत्र थप फराकिलो बनाउनेजस्ता काममा खर्च थपिएको छ ।

सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको छ । 

३५० मिटर छोटो

नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण सकिएपछि पहिलेको भन्दा ३५० मिटर छोटो हुने भएको छ । सडकखण्डमा बन्ने पुल र सडकमा रहेका केही घुम्ती काटिँदा सडक दुरी घट्ने छ । पहिले यो सडकखण्ड पार गर्न ७० मिनेट लाग्ने गरेकोमा निर्माण सकिएपछि ३५ मिनटमा पार गर्न सकिने आयोजनाले जनाएको छ ।

यो सडकमा अहिले रहेको बढीमा पाँच मिटर फराकिलो पिचलाई सातदेखि ११ मिटरसम्म फराकिलो पार्न लागिएको छ । नारायणगढदेखि १६ किलोमिटर दुरीसम्म सडक ११ मिटर फराकिलो हुनेछ । त्यसपछि मुग्लिनसम्म सात मिटरको फराकिलो पिच हुने आयोजना कार्यालयले जानकारी दिएको छ ।

सन २०१५ मा गरिएको सर्वेक्षणअनुसार नारायणगढ मुग्लिन सडकखण्डमा  दैनिक ८ हजार ३ सय १७ गाडी गुड्ने गरेका छन् । काठमाडौंलाई जोड्ने अरु वैकल्पिक सडकमार्ग, सुरुङ्ग मार्ग र फाष्टट्रयाक नबनुन्जेलसम्म यही सडकखण्डमै गाडीको चाप बढ्ने छ ।

 

अन्तिम अपडेट: चैत २, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया