नागरिकताबारे सांसदहरुका थरिथरी मत (भिडियो)

 साउन ३०, २०७५ बुधबार ६:४५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – सरकारले ल्याएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ सम्बन्धमा सांसदहरुको मत भिन्नता देखिएको छ । 

नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा बोल्ने सांसदहरुले यसबारे भिन्न मत राखेका छन् । धेरै सांसदले महिलालाई पुरुष सरह नागरिकता दिईने छ भन्ने संविधानमा रहेको प्रावधान विपरित कानुन संसोधन गरिएको भन्दै विरोध गरेका छन् ।

केही सांसदले नागरिकता जस्तो देशको सार्वभौमिकता र स्वतन्त्रतासँग जोडिएको विषय भएको सजिलै उपलब्ध गराउने प्रावधान राखिनु नहुने तर्क गरेका छन् । त्यसैगरी नेपाली नागरिकता प्रदान गर्ने सवालमा महिलालाई ऐच्छिक र बाबुलाई अनिवार्य गर्ने प्रावधान ल्याईएको भन्दै महिला सांसदहरुले आपत्ति जनाए ।

सांसद कृष्णभक्त पोख्रेलले संविधानमा समानता गर्न नसकेको विषयलाई विधेयकले सम्म्बोधन गरेको भन्दै विधेयकको समर्थन गर्नुभयो । नेपाली छोरीले विदेशी नागरिकसँग विहे गरेको अवस्थामा उसबाट जन्मिएको बच्चालाई आमाका आधारमा नागरिकता दिन पाउने विषयलाई विधेयकले अधिकारको रुपमा राखिएको बताउनुभयो ।

सांसद हृदेश त्रिपाठीले आमाको आधारमा नागरिकता दिन किन अप्ठ्यारो भनि प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो “आमाको आधारमा नागरिकता कुन सालदेखि कुन नक्षत्र कहिले ग्रहण लागेपछि दिईन्छ ? त्यसमा कब्जियत किन हुन्छ राज्यलाई ? समानताका धेरै गुड्डी हाँक्नेहरु किन त्यहाँ कब्जियतका शिकार हुन्छन् ?”

सांसद भीम रावलले संविधान कार्यान्वयनका लागि नागरिकता सम्बन्धी ऐन २०६३ लाई संसोधन गर्न ल्याईएको विधेयक सकारात्मक भएपनि विधेयकमा संविधानसँग बांझिएका कयौ व्यवस्था रहेको भन्दै ती व्यवस्था परिर्वतन गर्न माग गर्नुभयो । 

सांसद प्रेम सुवालले विदेशीले नागरिकता पाउने प्रावधान ऐनमा राख्न नहुनेमा जोड दिनुभयो । विदेशीबाट जन्मेकालाई स्थायी बसोबासको अनुमति दिन सकिने तर जन्मको आधारमा नागरिकता दिन नसकिने भन्दै उहाँले त्यसलाई थप स्पष्ट पार्न आग्रह गर्नुभयो ।

 

सांसद पुष्पा भुसालले आमाले आफ्नो बच्चालाई नागरिकता दिंदा उसले पुष्ट्याई गर्नुपर्ने अवस्था श्रृजना गर्नु महिला मैत्री व्यवस्था नहुने बताउनुभयो । नागरिकता दिन विभेद गरिने छैन भनेर संविधानले नै व्यवस्था गरेकाले नागरिकतामा महिलालाई विभेद गर्न नमिल्ने दाबी गर्नुभयो । 

सांसद गगन थापाले स्वाधिनता जोगाउने कुरा आमाहरुले सक्दैनन् भन्ने मानसिकताका कारण नागरिकतामा अझै पनि विभेद गरिएको भन्दै संविधानले दिएको समानताको अधिकार नागरिकताको सवालमा पनि कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद विन्दा पाण्डेले सबै नेपाली पुरुष र सबै नेपाली महिलाको सबै सन्तानले सहज ढंगले नागरिकता पाउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया