तीन महिनाभित्र नारायणहिटीमा श्रीपेच सार्वजनिक गरिने

 जेठ १६, २०७५ बुधबार १३:३२:३१ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ १६ – सरकारले तीन महिना भित्र नारायणहिटी दरबार संग्राहलयमा राजमुकुट  (श्रीपेच) सार्वजनिक गर्ने घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबीन्द्र अधिकारीले राजसंस्थाको प्रतिकको रुपमा तत्कालीन राजाले लगाउने राजमुकुट नारायणहिटी दरबार संग्राहलयमा ३ महिना भित्र सार्वजनिक गर्ने योजनाअघि सार्नु भएको हो ।

यसअघि पनि सरकारले राजमुकुटलाई सार्वजनिक गर्ने प्रतिवद्धता पटक–पटक दिँदै आएको थियो । बुधबार नारायणहिटी दरबार संग्राहलयको अनुगमनमा पुग्नु भएका मन्त्री अधिकारीले संचारकर्मीमाझ संग्राहलयको उचित व्यवस्थापनका लागि गुरु योजना बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

नारायणहिटीको ऐतिहासिकता मर्न नदिन पनि गुरु योजना बनाउने सोच आफूले अघि सारेको मन्त्री अधिकारीले बताउनुभयो । मन्त्री अधिकारीले नारायणहिटी दरबार संग्राहलयमा निर्माणाधिन गणतन्त्र स्मारकको काम पनि छिट्टै सम्पन्न हुने आश्वासन दिनुभयो । मुलुकमा गणतन्त्र स्थापना भएसँगै सरकारले नारायणहिटी राजदरबारलाई संग्राहलयको रुपमा नामाकरण गरेको थियो ।

राजतन्त्र र त्यसको ऐतिहासिकता मर्न नदिन सरकारले यसलाई संग्राहलयमा परिणत गरेको हो । मन्त्री अधिकारीले नारायणहिटी संग्राहलयको ऐतिहासिकता मर्न नदिन सरकार सचेत रहेको स्पष्ट पार्नुभयो । सरकारले यो संग्राहलयको उचित व्यवस्थापनका लागि छुट्टै समिति बनाउने योजना पनि तय गरेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया