अमेरिकामा माेडेर्नाले बनाएको खोपलाई पनि अनुमति

 पुस ३, २०७७ शुक्रबार १३:१२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाले कोरोना भाइरस विरुद्ध माेडेर्नाले बनाएको खोपलाई पनि अनुमति दिएको छ ।

माेडेर्नाले विकास गरेको खोपलाई पनि आपतकालीन रुपमा प्रयोगका लागि स्वीकृति दिएको अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले जनाएको छ । कोरोना भाइरस विरुद्धको लडाइँमा यो दोस्रो विकल्प भएको एफडीएले जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार यो खोप १८ वर्ष र १८ वर्षभन्दा माथिको उमेर समूहमा प्रभावकारी देखिएको छ । यसअघि एफडीएले माेडेर्नालाई खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिने सङ्केत गरेको थियो । एफडीएको सल्लाहकार बोर्डका विज्ञहरुले सर्वसम्मत रुपमा माेडेर्नाकाे खोप सुरक्षित तथा प्रभावकारी रहेको भन्दै स्वीकृति प्रदान गर्न सुझाव दिएका थिए ।

त्यसपछि प्रक्रिया पूरा गरेर एफडीएले स्वीकृति दिने निर्णय गरिसकेको रोयटर्सले उल्लेख गरेको छ । यसअघि एफडीएले फाइजर-बायोएनटेकले विकास गरेको खोपलाई गएको हप्ता स्वीकृति दिएको थियो । कोरोना विरुद्धको अर्को खोपले पनि अनुमति पाएपछि अमेरिकामा कोरोना भाइरसको नियन्त्रणमा आशा जागेको खबरमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म एक करोड ७६ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने तीन लाख १७ हजारभन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया