पानी ट्यांकीमा विष राखिएको घटनाको छानबिन गर्न माग

 साउन ३०, २०७५ बुधबार १३:२०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विद्यालयको पीउने पानीको ट्यांकीमा विष राखिएको घटनाको तत्काल छानविन गरी संलग्न अपराधीलाई कारवाही गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।
  
प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद घनश्याम खतिवडाले घटनाको सत्य तथ्य छानविन गरि संलग्न दोषी माथि कडा कारबाही गर्न माग गर्नुभएको हो । घटनाको समयमा लेटाङ नगरपालिकाको इलाका प्रहरी कार्यालयमा एउटा गाडी पनि चल्न सक्ने अवस्थामा नभएको भन्दै उहाँले लेटाङ नगरपालिकाको इलाका प्रहरी कार्यालयलाई साधन स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मंगलबार मोरङ क्षेत्र नम्बर १, लेटाङ नगरपालिकाको श्री जाँते माविमा विद्यार्थीले पानी पिउने वित्तिकै पेट पोल्ने, बान्ता हुने लक्षण देखिएपछि विद्यालय प्रशासनले चेक गर्दा पिउने पानीको ट्यांकीमा विषको बोतल नै फेला परेको थियो । विषाधियुक्त पानी पिउँदा २६ जना विद्यार्थी बिरामी परेका थिए ।

१८ जना सामान्य उपचारपछि घर फर्किए पनि २ जनाको उर्लाबारी नगरपालिकाको मंगलबारे अस्पताममा र ४ जना गम्भीर विद्यार्थीको विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले विभिन्न विपतको समयमा पनि भाडाको सवारी साधन प्रयोग गर्ने गरेको उल्लेख गर्दै उहाँले प्रहरीलाई संचार र यातायातका साधन सम्पन्न गराउन माग गर्नुभयो ।

त्यसैगरी सांसद प्रकाशमान सिंहले काठमाडाैं क्षेत्र नम्बर १ को वडा नम्बर १०, ११ र २९ मा धोवीखोला र बागमती नदीको बाढीले ठूलो क्षति पुर्याएको भन्दै उपयुक्त राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले धोवी खोला र बागमति किनार छेउमा रहेका मानवबस्तीका अधिकांश भुभागमा हिलोसहितको पानी घर भित्र छिरेको र क्षति भएको बताउनुभयो । नदी खोला सरसफाई र संरक्षणका लागि विभिन्न निकायहरु गठन भएको भए पनि जिम्मेवारी एक अर्कालाई पन्छाउने प्रवृत्तिले समस्या भएको उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया