नुवाकोट बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५८ जना घाइते

 साउन ३०, २०७५ बुधबार १५:४९:२१ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट – नुवाकोटमा बुधबार बिहान भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमध्ये एक जनाको उपचारको क्रममा ज्यान गएको छ । 

म्यागङ गाउँपालिका– २ बुङताङबाट काठमाडौंको लागि छुटेको बा. २ ख २८०४ नम्बरको बस विदुर नगरपालिका–९, लामाटारमा दुर्घटना हुँदा घाइते भएकी ५६ वर्षीया मोतिमाया तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । हेलिकप्टरमा काठमाडौं लगिएकी तामाङ ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । 

दुर्घटनाको अन्तिम विवरण सार्वजनिक गर्दै प्रहरीले ५८ जना घाइते भएको जनाएको छ । यसअघि प्रहरीले ४० जना घाइते भनेर सार्वजनिक गरेको थियो । घाइतेमध्ये ८ जनालाई उपचारको लागि काठमाडौं लगिएको छ ।

गम्भीर अवस्थाका म्यागङ गाउँपालिकाका ५६ वर्षीय प्रेमसिह तामाङ, ५७ वर्षीय होमबहादुर तामाङ, २० वर्षीया दिवामाया तामाङ, ७५ वर्षीय छिरिङ तामाङ, ५६ वर्षीय पूर्वबहादुर लामा तामाङ, वीरबहादुर विक, उत्तम तामाङ, ४० वर्षीया मंगलीमाया तामाङको राजधानीका ग्रीनसिटी र ग्राण्डी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 
    
अन्य घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । मिनिट्रकलाई साइड दिने क्रममा सडकको डिल भासिएर दुर्घटना हुँदा बस ४० मिटर तल कोदोबारीमा पुगेको थियो । 

अन्तिम अपडेट: चैत १, २०८०

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया