‘समयमै ढल व्यवस्थापन गरिएन भने ठूलो दुर्घटना निम्तिन्छ’

 साउन ३०, २०७५ बुधबार १५:५६:५५ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाडौ – मानवीय गतिविधिका कारण बढ्दो प्रदुषणले अहिले वातावरण प्रतिकुल बन्दै गएको छ ।

धुवाँ र धुलोको कारण काठमाडौं उपत्यका लगायत देशभरीकै मुख्य मुख्य शहरहरु प्रदुषित बन्दै गएका छन् । यसले सहज रुपमा सास फेर्न पनि गाह्रो भइरहेको छ भने विभिन्न सरुवा रोगको प्रकोप बढ्दो छ । अर्कोतर्फ मानिसका गतिविधिले प्राकृतिक विपदका घटना बढिरहेका छन् ।

वन फडानी हुँदा तथा भु उपयोग परिवर्तन गर्दा नदी तथा खोलामा बाढी आउन थालेको छ । जलवायु परिवर्तन तथा वायु प्रदुषणका कारण हिमालमा हिउँ पग्लिएर हिम पहिरो आउने तथा हिमताल फुट्ने कारणले वातावरणीय वा पर्यावरण असन्तुलनका साथै प्राकृतिक श्रोत तथा धनजनको क्षति हुन थालेको छ ।

वातावरणको प्रदुषण र प्राकृतिक विपदका घटनाको जोखिमका बारेमा उज्यालो अनलाइनका लागि विष्णु विश्वकर्माले वातावरणविद् डा.माधव कार्कीसँग कुराकानी गर्नुभएको छ ।

अहिले हामी बस्ने वातावरण कत्तिको प्रदुषित छ ? सास फेर्न योग्य छ कि छैन ?

नेपालको वातावरणमा पछिल्लो तथ्यांकलाई हेर्ने हो भने अहिले अवस्था प्रतिकूल भइसकेको छ । अहिले काठमाडौ भन्दा बढी लुम्बिनीमा प्रदुषण बढेको छ । यसका धेरै कारण छन । वातावरण बिग्रंदै जानुमा हामी नागरिक, राजनीतिक नेतृत्व र विकासका योजनाहरु सबै जिम्मेवार छन् ।

हामीले नै बनाएका विकास निर्माण तथा पूर्वाधारका कामले गर्दा अहिले वातावरण प्रदुषणको मुख्य कारक बनेको छ । अर्कोतर्फ वातावरणलाई ध्यान नदिइकन विकास निर्माणका काम गर्ने हो भने त्यो विकास दिगो हुँदैन । अर्कोतर्फ आर्थिक समृद्धिको कुरा अहिले सबैले भन्दै आएका छन् । सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा लगाएर काम गरिरहँदा पहिला वातावरणलाई ध्यान दिन जरुरी छ ।

वातावरणमा प्रदुषणको मात्रा बढ्नुको कारण  के–के हुन् ?

वातावरणमा जल, जमीन, हावा, जीव जिवाणु, वन जंगल आदि कुरा आउँछन । हाम्रो देशको पछिल्लो अवस्था भन्ने हो भने पानी, हावा र जमीन बढी प्रदुषित भइरहेको छ । यसका राष्ट्रिय, अन्तर्राष्ट्रिय कारणहरु छन् । पहिले हामीले जीवनशैलीमा परिवर्तन गरेका छैनौं । अर्थात हेलचेक्र्याईं गरिरहेका छौँ । 

पानीकै कुरा गर्ने हो भने बाग्मतीको पानी सुन्दरीजलसम्म खान योग्य छ । तर त्यै पानी असन र भीमसेनस्थानसम्म हेर्ने हो भने खान योग्य छैन । किन छैन भने हामीले उचित ढलको व्यवस्था गर्न सकेका छैनौँ । पानीमा ढल मिसिएको छ । हामीले गाडीको संख्या र त्यसबाट निस्कने धुवाँलाई नियन्त्रण गर्न सकेका छैनौं ।

गाडीको धुवाँबाट सल्फर, मिथेन, कार्बन जस्ता निकै हानिकारक ग्याँसले पनि हाम्रो वातावरण प्रदुषण गरिरहेको छ । यी स्थानीय कारण हुन । आर्थिक विकासको लागि चाहिने फ्याक्ट्री, इँट्टाभट्टा उद्योग कलकारखाना छन् । यसले गर्दा पनि वातावरणमा प्रदुषण बढ्दो छ । तर जति पनि विकासका संरचना छन, तिनलाई वातावरण अनुकूल गर्न निरन्तर अनुगमन र प्रदुषण नियन्त्रण गरिरहनुपर्छ । हामीकहाँ यो पद्धति कमजोर बन्दै गएको छ । अब नियमको पालना कडा रुपमा गराउनुपर्ने देखिन्छ । 

यो अन्तर्राष्ट्रिय कारणले जलवायु परिवर्तन भएको हो । वायु र मौसममा आएको परिवर्तन नै जलवायु परिवर्तन हो । यसको मुख्य कारण भनेको औद्योगिक रुपमा विकसित देशबाट कार्बनजन्य वस्तुको उत्सर्जन् भएकाले हो । यसले वायुमण्डल तथा मौसमी चक्रलाई सबैभन्दा बढी असर पार्छ । तल्लो वायु मण्डलको माथिल्लो तहमा गएर प्रदुषित हावा बसेपछि हिमाली भाग धेरै तातिने तथा तराईको भूभाग जाडो याममा चिसिने अवस्था आएको छ । यसले गर्दा हाम्रो जस्तो पर्वतीय देशमा जलवायु परिवर्तनको असर बढी देखिने हो । यसमा सबैभन्दा हानिकारक भनिने ब्ल्याक कार्बनको असर हो । 

बढ्दो गाडीहरुको धुँवा, कारखानाबाट निस्कने कालो धुवा अर्थात ब्ल्याक कार्बनमा सल्फर, मिथेन र कार्बन ग्यास हुन्छ । राम्ररी नजलेको ब्ल्याक कार्बन सबैभन्दा बढी हानिकारक हुन्छ । यो पानी नपरुन्जेल हावामा हुन्छ । हावालाई प्रदुषण गरिरहन्छ । ब्ल्याक कार्बनपछि ओजोन ग्यास छ ।

ओजोन ग्यास दुई किसीमका हुन्छन । राम्रो ओजोन र नराम्रो ओजोन छ । राम्रो ओजोन माथिल्लो वायुमण्डलमा छ । जसले वायुको सबैभन्दा माथिल्लो तहमा रहेर सुर्यका किरणलाई आवश्यकता अनुसार पृथ्वीमा पठाउछ । तर अहिले त्यसमा प्वाल पर्यो भनेर वैज्ञानिकले भन्दै आएका छन् । 

अर्को नराम्रो ओजोन हाम्रै वरिपरी छ । यसले पनि प्रदुषण बढाउँछ । यसको असर कम हुन्छ । तर यो जलवायु परिवर्तनको कारणले होइन । जुन हरितगृह ग्यासहरु जस्तै कार्बन, मिथेन तथा नाइट्रोजनअक्साइडले हुन्छ । छोटो समय बस्ने प्रदुषण गर्ने ग्यासहरुलाई नियन्त्रण गर्न सम्भव छ ।

काठ बाल्दा, आगलागी हुँदा, प्लाष्टिकजन्य पदार्थ बाल्दा ब्ल्याक कार्बन, ओजोन जस्ता ग्यासहरु निस्कन्छन । जलवायु परिवर्तन तथा माथि उल्लेखित छोटो समय रहने प्रदुषित ग्यास तथा आकाशमा धुलोका कारण हिमालमा हिउँ पग्लिने, हिमनदी फुट्ने लगायतका असर देखिरहेका छन् ।

नेपाल जलवायु परिवर्तनको चपेटामा पर्दै आएको छ । हाम्रा आन्तरिक गतिविधिले पनि जलवायु परिवर्तन गर्न सघाइरहेको छ । यसमा अन्तर्राष्ट्रिय कारण पनि छन् । तर पहिला वातावरणलाई प्रदुषणबाट जोगाउन वा जलवायु परिवर्तनलाई रोक्न हामीले के गर्नुपर्छ ?

जलवायु परिवर्तन रोक्न थुप्रै अन्तर्राष्ट्रिय प्रयास भैरहेका छन् । केही वर्षअघि फ्रान्सको पेरिसमा जलवायु परिवर्तनसम्बन्धी सन्धि तथा सम्झौतामा नेपालले पनि हस्ताक्षर गरेको छ । हामीले साना ठूला योजनाहरु बनाएर सरकार, नागरिक, निजी, क्षेत्र, गैरसरकारी संस्था सबै मिलेर काम गर्नुपर्छ । हामीले विश्व समुदायलाई जलवायु परिवर्तन रोक्नुपर्छ भन्नुको साथै आफैँले पनि उदाहरणीय काम गरेर देखाउनुपर्छ । त्यसैले सबैभन्दा पहिले सडक व्यवस्थापन, ट्राफिक व्यवस्था र शहरी व्यवस्थापन गर्नुपर्छ । हाम्रा मेयर ज्यूहरुले धुलो र धुवाँ  एक महिनामै हटाउँछु भन्नुभयो । तर त्यसको लागि ठोस योजनाहरु आज पनि बनाउनु तथा बनेकालाई पनि कार्यान्वयन गर्न नसकेको अवस्था छ ।

खोई अहिलेसम्म धुवाँ उस्तै छ त । पुरै हटाउन नसकेपनि कम गर्न त सकिन्छ । उहाँहरुले फ्री पार्किङ दिन्छु भन्दा गाडी पार्किङको लागि मल्टी स्टोरी पार्किङ बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने निती लागु गर्न सकिन्छ । धेरै आकाशे पुल, खासगरी चक्रपथ तथा भक्तपुरका सडकमा बनाउन सकिन्छ । अनि पैदल यात्रीलाई आकाशे पुलबाट मात्र बाटो काट्ने बानी लगाउने र गाडीलाई छुट्टाछुट्टै लेनमा हिँडाउन सक्ने बनाउनुपर्छ । ट्राफिक जाम बढेको छ, अब दुई तला सडक बनाउन जरुरी छ । जस्तो थाइल्याण्डको बैंककमा धेरै प्रदुषण भयो भनेर बसलाई हिँड्ने छुट्टै लेन बनाइएको थियो ।

सबैभन्दा नबुझिने कुरा त मुल सडक तथा राजमार्गमै तरकारी बेच्न साइकल ठेलागाडा चलाएर पसल खोलेर बस्ने, खुद्रा व्यापारी बस्ने, फलफूल बेच्ने यी काम बन्द गर्नुपर्यो । यसले ट्राफिक जाम र प्रदुषण बढाएको छ । यसमा हाम्रा मेयरज्यूले विशेष ध्यान र्पुयाउन जरुरी छ । अनि सबै सडकलाई पिच गर्नुपर्यो । त्यो पनि दिगो रुपमा । आजको भोलि पिच उप्किने होइन । वर्षौँ वर्ष टिक्ने पिच निर्माण गर्नुपर्छ । एकचोटी प्रयोग गरी फाल्ने प्लाष्टिक झोला निषेध गर्नुपर्यो ।

सरकारले अब प्रदुषण नियन्त्रण गर्न पनि कडा नियम लगाउनुपर्छ । वातावरण विभागले फोहोरमा पनि प्लाष्टिक झोलाहरुमा नियन्त्रण गर्न जरुरी छ । फेरि प्रयोगमा आउने बाहेक  प्लाष्टिक झोलाई प्रतिबन्ध लगाउन आवश्यक छ । आजको भोलि नै त नहोला । तर सरकार र नागरिकबीच समन्वय हुने हो भने प्रदुषण नियन्त्रण गर्न सकिन्छ । प्लाष्टिक झोला निषेध गर्न सकिन्छ । भारतका दिल्ली, मुम्बई, बेंग्लोर जस्ता ठुला ठुला शहरमा बंगलादेशको ढाकााम प्लाष्टिकका झोला निषेध गरिएको छ ।

सरकारले विगतमा पनि प्रदुषण नियन्त्रण गर्ने कार्यक्रम ल्याएको थियो । जथाभावी सडकमा फोहोर गर्न नपाइने, प्लाष्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने, सार्वजनिक गाडीमा डस्ट्बिन राख्नुपर्ने, बाटोमा पसल राख्न नपाइने जस्ता नियम ल्याइएका थिए । तर कार्यान्वयन राम्ररी नभएको अवस्था छ ।

सरकारले कार्यक्रम ल्याउने तर कार्यान्वयन हुँदैन, किन ?

यसमा सरकारलाई मात्रै दोष दिनुु हुँदैन । नागरिकले पनि आफ्नो उत्तरदायित्व पूरा गर्नुपर्छ । सरकारले पनि एउटा दुई वटा कार्यक्रम ल्याएर भएन । नीतिगत र प्रभावकारी ढंगको योजनालाई अगाडि सार्नुपर्यो ।

जसलाई राम्रोसँग कार्यान्वयन गर्ने कर्मचारीको टिम हुनुपर्यो । त्यसैले गाडीबाट हुने प्रदुषण व्यवस्थापन, उद्योग कलकारखाना र पूर्वाधार निर्माणका कामलाई अघि बढाउँदा वातावरण अनुसार काम गर्ने हो भने धेरै कुरा सुध्रिन्छ । सरकारले ल्याएका कार्यक्रम पनि यस्तै हुन । तर कार्यान्वयन गर्न सरकारी स्तरमा सुधार त गर्नैपर्छ । यसमा हामी नागरिक पनि जुट्नुपर्छ ।

नेपाल पर्यटकीय हिसाबले निकै संवेदनशील र महत्वपूर्ण छ । जलवायु परिवर्तनले गर्दा यसरी हिउँ पग्लिंदै जाने हो भने नेपालको पर्यटन क्षेत्र जोखिममा पर्ने डर पनि छ । यसलाई कसरी न्यूनिकरण गर्न सकिएला ?

हिमनदी पग्लिने, हिमालमा जमेको बरफ पग्लिनुमा नेपालको भन्दा बढी बाह्य कारणहरु छन । तीव्र रुपमा भइरहेको औद्योगिक विकासको असर नेपाललाई परिरहेको छ । यसबारेमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो स्तरमा पनि काम गर्ने प्रतिबद्धता जनाएको छ । त्यसलाई योजनका साथ छिमेकी देशहरुसँग् मिलेर कार्यान्वयन गर्नुपर्छ । यसका लागि विश्वव्यापी रुपमा पनि  सम्बन्धित निकायहरुसँग मिलेर काम गर्नुपर्छ । विकसित देशलाई  पटकपटक सचेत गराउनुपर्छ ।

साथै राष्ट्रिय रुपमा वृक्षारोपण गर्ने, वन फँडानी र आगलागीका घटना रोक्ने, प्लाष्टिकजन्य पदार्थको व्यवस्थापन तथा उत्पादन रोक्ने हो भने पनि धेरै हदसम्म यो रोक्न सकिन्छ । अर्को अहिलेका स्थानीय तहले यो काम सबैभन्दा महत्वपूर्ण ढंगले गर्न सक्छन् । यदि स्थानीय तहले वातावरणको पर्यावरणलाई राम्रोसँग ध्यान दिन सकेमा वा अभियान चलाउन सकिएमा हामीले अहिलेको वायु प्रदुषण र जलवायु परिवर्तनबाट हुने असरलाई रोक्न सक्छौं ।

यसका साथै प्राकृतिक विपदका घटनालाई पनि धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ । अर्को महत्वपूर्ण कुरा अहिले डोजरे विकासको चलन बढेको छ । यो एक किसिमले नागरिकलाई फाइदा र सहज होला ।

तर दीर्घकालीन रुपमा ठूलो असर पार्न सक्छ । किनभने बिना योजना, बिनाउपकरण र वैज्ञानिक सर्वे बिना हचुवाका भरमा विकासे काम गर्ने हो भने त्यसको असर सिधै वातावरणमा पर्छ । वातावरणमा असर परेमा जलवायु परिवर्तनका कारण ठूल्ठूला विपदका घटना आउन सक्छन् । त्यसैले समयमै यसतर्फ सचेत हुन जरुरी छ ।

विगतभन्दा बाढी पहिरोको जोखिम पछिल्लो समय वर्षे्नि बढ्दै गएको छ । सानै पानी आउँदा पनि खोला र नदीमा बाढी आउने । घरखेत बगाउने । ज्यानै जाने ।

पहाडी बस्तीमा पहिरो खस्ने, घरहरु पुरिने भइरहेका छन् । यसको वैज्ञानिक कारण के हो ?

यसका धेरै कारण छन् । म भक्तपुरमा केही दिन अघि आएको बाढीबाट शुरु गर्छु । यसका ५ वटा कारण छन् । पहिलो भनेको हाम्रो देश पहाडी क्षेत्र हो । अहिले पनि चलायमान छन् । यी पहाडहरु स्थिर हुने क्रममा छन् । यी प्राकृतिक रुपमै चलायमान भएकाले कहिलेकाहीँ पहिरोहरु जाने गर्छन् ।
दोश्रो कारण हाम्रो भूबनोट परिवर्तन हुन थालेको छ । वैज्ञानिक आधार नभई मानिसका गतिविधिले गर्दा भूबनोट बिग्रिएको छ । भक्तपुरको हनुमन्ते खोलामा पहिला आउने बाढी र अहिले आउने बाढी फरक छ ।

पहिला बाढी आउँदा आफन्ै धारमा आउँथ्यो र बगेर जान्थ्यो । कहीँ कतै असर गर्दैनथ्यो । तर अहिले खोला छेउ सबै बस्ती छन् । खोला खुम्चिएको छ । ढल छैन । नेपालमा अहिलेसम्म कुनै ठाउँमा पनि व्यवस्थित ढल छैन । अब वर्षामा बाढी आउँदा पानी कताबाट जाने ? अर्को्तिर त्यसको धार नै परिवर्तन हुनेगरी खोला छेउमै घरहरु बनेका छन् । यसले गर्दा खोला बग्न नपाएपछि बस्ती डुबानमा पर्न थालेको हो ।

तेश्रो हाम्रो हचुवाको भरमा घर बनाउने, सडक बनाउने कारणले गर्दा अहिलेका विपदका घटना बढेका हुन । चौथो भनेको अहिले प्लाष्टिकजन्य पदार्थको प्रयोग यति धेरै बढेको छ । जसलाई व्यवस्थित गर्ने अब ठाउँ अभाव हुन सक्छ । किनकी प्लाष्टिक न कुहिन्छ ।  जलाउँदा त यसबाट स्वास्थ्यलाई धेरै बेफाइदा नै हुन्छ । जब सानै पानी आउँदा पनि प्लाष्टिक तथा ढल थुनिएका कारण जमीनले पानी सोस्न सक्दैन । नदी र खोलाई अझ डम्पिङ साइड बनाई दिएका छौं । अनि खोला तथा नदीलाई प्रदुषित बनाउँछ । अर्को पाँचौ कारण भनेको हामी विगतका घटनाबाट पाठ सिक्दैनौं ।
 
भक्तपुरमा दुई बर्षअघि पनि बाढी आएको थियो । त्यतिबेला पनि घरहरु डुबानमा परेका थिए । मानवीय क्षति भने त्यतिबेला भएन । तर केही दिनअघि आएको बाढीले केही मानिसको पनि ज्यान गयो । यो चेतावनीको संकेत हो ।

अझै पनि हामीले खोला तथा नदी किनारामा बलमिचाईं गरेर बसिरह्यो भने भोलि ठूलै अनिष्ट हुन सक्छ । त्यसैले हनुमन्ते खोला वरिपरीको बस्ती हटाउन थाल्नुपर्छ । वृक्षारोपण गर्नुपर्छ । भक्तपुरको हनुमन्ते मात्र काठमाडौंको बाग्मती, विष्णुमती, मनोहरा खोला नदीमा बाढीको जोखिम छ ।

यसको पछाडि जलाधार संरक्षण छैन । यदि अहिले जलाधार संरक्षणमा ध्यान दिइएन भने वषौंवर्ष यस्तै बाढी आइरहन्छ । यो काठमाडौँ उपत्यकामा मात्र नभई देशभरीकै समस्या छ । यसतर्फ सचेत हुनुपर्छ ।

सरकारले केहीवर्ष यता राष्ट्रपति चुरे संरक्षण कार्यक्रम पनि चलाइरहेको छ । तर प्रभावकारी देखिएको छैन । अहिले पनि तराई तथा मधेसका खोला तथा नदीमा ढुंगा, गिट्टी, बालुवाको निकासी रोकिएको छैन । यसरी प्राकृतिक श्रोत साधनको दोहन नरोकिंदा के कस्ता जोखिमहरु आउन सक्छन् ? समयमै यसको उचित व्यवस्थापन कसरी गर्नुपर्छ ?

चुरेको संरक्षण अलिकति जटिल छ । किनभने चुरे एकदमै चलायमान छ । नेपालका तीन चारवटा पर्वतीय श्रृँखलामध्ये सबैभन्दा वातावरण ध्यान दिनुपनर्ने चुरेमै छ । बस्ती नै नबस्नुपर्ने ठाउँमा बस्ती छन । तर उचित भु उपयोग योजनाको आधारमा योजना एकिकृत, आर्थिक, सामाजिक तथा वातावरणीय योजना बनाएको खण्डमा चुरे बचाउन सकिन्छ ।

यसका पछाडि गरिबी मुख्य कारण हो । सरकारले चुरे संरक्षण कार्यक्रम जसरी नागरिकको प्रत्यक्ष संलग्नतामा चलाउन खोजिरहेको छ । यो राम्रो पाटो हो ।

अहिले स्थानीय तह, प्रदेश र केन्द्र सरकारले यसका बारेमा विस्तृत थप अध्ययन अनुसन्धान गरेर कार्यक्रम अगाडि बढाउन सक्नुपर्छ । अर्को भनेको जनतारहित चुरे संरक्षण कार्यक्रम पनि गर्न सकिन्छ । यसमा विशुद्ध अध्ययन अनुसन्धानको पाटो र आगामी दिनमा चुरेलाई जोखिममुक्त पार्ने विषयमा कार्यक्रम ल्याउन आवश्यक छ । अहिले धेरै बस्ती चुरे क्षेत्रमा बस्दा उनीहरुको नाममा अन्यत्र घरजग्गा छ कि छैन ? त्यसबारे अध्ययन गर्न जरुरी छ । वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन तथा खाद्य सुरक्षाको व्यवस्था गर्नुपर्छ ।

चुरे संरक्षण कार्यक्रमले के कति गरेको छ ? त्यो त विस्तृत बाहिर आइसकेको छैन । तर अब चुरे संरक्षणका लागि एकीकृत बस्तीको सोचअनुसार अगाडि बढ्न जरुरी छ । अहिले सरकारले गरेका काम नियमित छन् । तर जिल्लास्तरीय मात्रै भए । तोकिएको क्षेत्रमा प्रभावकारी काम नगर्ने गतिविधि देखिएका छन । यो अब रोकिनुपर्छ । 

जहाँसम्म जोखिमको कुरा हो, हाम्रो देश प्राकृतिक रुपले नै जोखिममा छ । त्यसमा पनि अत्यन्तै जोखिमयुक्त ठाउँमा बस्ती छन । अनि दिन दिनै खोला, नदी र वनजंगलको दोहन रोकिएको छैन । यसले कुनै पनि बेला ठूलो बाढी पहिरो जान सक्छ । सरकारले यसतर्फ समयमै ध्यान दिन आवश्यक छ । 

(कार्की जलाधार संरक्षणका क्षेत्रमा काम गर्ने संस्था सेन्टर फर ग्रिन इकोनोमी डेभलेपमेन्ट सीजीइडी नेपालका प्रमुख हुनुहुन्छ ।)
 

अन्तिम अपडेट: फागुन २९, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया