राम्रो परामर्श क्यान्सर रोगीहरुका लागि औषधिजत्तिकै महत्वपूर्ण छ: डा. सुदिप श्रेष्ठ

 साउन ३०, २०७५ बुधबार १९:१९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं -  नेपाल क्यान्सर सहयोग समूह (एनएसजी) का अध्यक्ष डाक्टर सुदिप श्रेष्ठले क्यान्सर बिरामीलाई उचित परामर्श मिलेमा रोग निको हुने सम्भावना एकदमै प्रबल रहने  बताउनुभएकाे छ ।

नेपाल क्यान्सर अस्पताल र एनएसजीले नेपाल क्यान्सर अस्पतालमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एनएसजीका अध्यक्ष तथा नेपाल क्यान्सर अस्पतालका निर्देशक श्रेष्ठले राम्रो परामर्श क्यान्सर रोगीहरुको लागि औषधिजत्तिकै महत्वपूर्ण रहेको दावी गर्नुभएकाे हाे । 

उहाँले भन्नुभयो, ‘जुन दिन क्यान्सर बिरामीले आफू मर्दैछु भन्ने सोच्छ उसको बाँच्ने सम्भावना न्यून हुन्छ, जसले आफूलाई केही पनि भएको छैन भन्छ, उसको रोग निको हुने सम्भावना धेरै हुन्छ ।’ 

त्यसैले बिरामीलाई उसको मानसिक अवस्था बुझेर त्यसै अनुसार परामर्श दिनुपर्नेमा क्यान्सर अस्पतालको ध्यान जानुपर्ने श्रेष्ठले सुझाउनुभयो । 

सम्मेलनमा नेपाल क्यान्सर अस्पतालका वरिष्ठ डाक्टर मुरारी मान श्रेष्ठले बढ्दै गरेका विभिन्न प्रदुषण (औद्योगिक,जल,हावा आदि ), खाद्यन्नमा मिसावट, कुपोषण आदिले पनि क्यान्सर निम्त्याएको बताउनुभयो । 

त्यसबाहेका नेपालमा क्यान्सरको प्रमुख कारण सूर्तिजन्य पदार्थ र रक्सीको अत्यधिक सेवन रहेको छ । 

नेपालका क्यान्सर उपचार हुने भरतपुर क्यान्सर अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, वि.पि. अस्पताल धरान, मणिपाल अस्पताल पोखरा आदि अस्पतालको तथ्यांक अनुसार नेपालमा महिला र पुरुष दुवैमा सबैभन्दा बढी फोक्सोको क्यान्सर रहेको पाइएको छ । 

यस्तै महिलामा क्रमशः पाठेघर, स्तन, पाचनप्रणालीको क्यान्सर र पुरुषमा पाचनप्रणाली, आन्द्रा, मुख, घाँटी र रगतको क्यान्सर प्रमुख रेहेको । साथै बच्चाहरुमा रगतको क्यान्सर सबैभन्दा बढी देखिएको छ ।

कार्यक्रममा एनएसजीका उपाध्यक्ष दिलिप भट्राईले क्यान्सर रोग निको भएका विभिन्न क्यान्सर रोगीहरुलाई संगठित गर्ने, आफु बिरामी भएको बेला र उपचारका क्रममा आ आफ्ना अनुभवहरु एकआपसमा आदान प्रदान गर्ने र उनीहरुमार्फत अन्य रोगीहरु पनि क्यान्सर रोग विरुद्ध लड्न जनचेतना जगाउन आवश्य रहेको बताउनुभयो ।

अहिले गाउँघरमा क्यान्सर रोग लागेको भनेपछि कसैलाई भन्न डराउने, रोग लुकाएर राख्ने प्रवृत्ति यथावत नै छ । 

कार्यक्रमले क्यान्सर रोगीहरुको आत्मबल वृद्धि हुने र जनचेतनाको विस्तार लगायत परामर्श तथा विविध सेवामा विस्तार गर्दै जाँदा क्यान्सरलाई समाजमा सहज तरिकाले लिने वातावरण सिर्जना हुने भट्टराईले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया