‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड– २०१८’ बैतडीकी सरस्वती नेपालीलाई

 साउन ३०, २०७५ बिहिबार ५:२८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ बुधबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा लागि बैतडीकी अभियन्ता सरस्वती नेपालीलाई प्रदान गरियो । उहाँलाई प्रमाणपत्र र ५ लाख रुपैयाँ राशीका साथ सम्मान गरिएको हो । 

सरस्वती नेपालीसँगै सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अन्य पाँच अभियन्ता डडेल्धुराकी कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखकी पार्वतीकुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व र बाजुराका डाक्टर रूपचन्द्र विश्वकर्मालाई कदरपत्रद्वारा सम्मानित गरियो ।

‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ अन्तर्राष्ट्रिय द्विवार्षिक पुरस्कार हो । जागरण मिडिया सेन्टर, समता फाउण्डेशन र सरिता परियार ट्रष्टको आयोजनामा दर्नाल अवार्ड सम्पन्न भएको हो । 

अभियन्ता सुभाष दर्नालकी आमा सरिता दर्नाल र समाजसेवी इन्दिरा राना मगरको हातबाट पाँच लाख राशीको पुरस्कार ग्रहण गरेपछि सरस्वतीले भन्नुभयो, ‘यो पुरस्कार र सम्मानले मलाई दलित आन्दोलन र सामाजिक न्यायमा लाग्न थप प्रेरणा मिलेको छ ।’ उहाँले नेपाली समाजमा हुने दलितमाथिको आर्थिक, सांस्कृतिक, लैंगिक र राजनीतिक विभेद अन्त्य गर्न राज्य संयन्त्रलाई प्रभावकारी र विभेदरहित बनाइनुपर्ने बताउनुभयो ।

दलित अभियन्ता सुभाष दर्नालको देहान्तको वार्षिकीको दिन १५ अगस्टको सन्दर्भ पारेर हरेक दुई वर्षमा दर्नाल अवार्ड आयोजना गरिन्छ । 

दलित समुदायको पहिचान बोकेको संगीतलाई दर्नाल अवार्डमा विशेष महत्व दिइयो । कार्यक्रम गुरुशरण सदा र शान्ति सदाले ‘हिमाल, पहाड घर मेरो, तराई हो आँगन’ बोलको गीतबाट सुरु भयो । त्यसपछि शुभबहादुर सुनामको संयोजनमा तयार पारिएको नौमती बाजाको विशेष सामूहिक प्रस्तुतिले सभागृहको माहोल ततायो । 

१४ वर्षीय एलेस्का कार्की ढलीको सेक्साफोनको विशेष प्रस्तुति, रुविन गन्धर्वको सांगीतिक प्रस्तुति र कवि केवल बिनाबीको कविता वाचन पनि कार्यक्रमको आकर्षण बन्यो । कार्यक्रमको पहिलो खण्डमा सुभाष दर्नालबारे तयार पारिएको परिचयात्मक भिडियोले उपस्थित दर्शकहरुलाई भावविह्वल बनाएको थियो ।

अवार्ड वितरण समारोह सम्पन्न भएको अघिल्लो दिन दुई वटा संगोष्ठी पनि आयोजना गरिएको थियो । मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा ‘आत्मसम्मानको राजनीति र सामाजिक न्याय : उदयीमान परिवर्तनकारीहरुका आवाज’ संगोष्ठीमा ५–५ जना अभियन्ता र विद्वानले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्नेमा रमेश सुनाम, सोना खातिक, सरिता परियार, अमर विक र रक्षाराम चमार थिए । उनीहरुको कार्यपत्रमा उमा चक्रवर्ती, सीता बौडेल, डा. बिन्दा पाण्डे, डा. उषा झा र सुबिना श्रेष्ठले टिप्पणी गरेका थिए । 

त्यही दिन होटल हिमालयमा ‘आत्मसम्मानको राजनीति र सामाजिक न्याय : वैश्विक सन्दर्भमा दलितको स्थिति’ शीर्षकमा विश्वभक्त दुलाल ‘आहुति’, दिल्ली युनिभर्सिटीका अवकाशप्राप्त प्रोफेसर उमा चक्रवर्ती, कोलम्बिया युनिभर्सिटीका प्रोफेसर एन्ड्रयु नाथन, नेसनल इन्डोमेन्ट फर डेमोक्रेसीका अध्यक्ष कार्ल गर्शमनको मन्तव्य प्रस्तुति रहेको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया