सन्दीपले उत्कृष्ट प्रदर्शन गरे पनि उनकाे टिमले हार्‍याे

 साउन ३१, २०७५ बिहिबार ११:१५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिए पनि उनको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले भने क्यारेबियन प्रिमियर लिगमा दोस्रो हार भोगेको छ ।

बिहिबार बिहान भएको खेलमा सन्दीपको टिम प्याट्रियट्स जमैका तल्वाहाससँग ४७ रनले पराजित भयो । टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १७८ रन जोडेको थियो । जमैकाका लागि रोस टेलरले अविजित ५१ रन जोड्दा केन्नर लेविस ४९ रन जोडे । यस्तै ग्लेन फिलिप्सले ४१ रन बनाए ।

प्याट्रियट्सले सन्दीपले २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर २ विकेट लिएका हुन् । सन्दीपले पहिलो ओभरमा १० रन खर्चे पनि दोस्रो ओभरमा आठ रन खर्चेर २ विकेट लिए । उनले लेविस र म्याकार्थेलाई आउट गरे ।  सीपीएल क्रिकेटमा सन्दीपको यो पाँचौ विकेट हो ।

जमैकाले दिएको १७९ रनको लक्ष्य पक्ष्याएको प्याट्रियट्सले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । प्याट्रियट्सका कप्तान क्रिस गेलले २४ तथा मोहमद महमुदउल्लाहले २२ रन जोडे । सन्दीप लामिछाने २ रनमा अविजित रहे । जमैकाका इमाद विसम, क्रिश्मार सन्टोकी र एडम जाम्पाले २र२ विकेट लिए ।

यो हारपछि सीपीएल क्रिकेटमा सन्दीपको टिम प्याट्रियट्स ३ खेलबाट २ अंक जोडेर पाँचौ स्थानमा छ ।  जितपछि जमैका ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया