काेराेना सङ्क्रमण दर बढ्न थालेपछि टाेकियाेमा आपत्काल घाेषणा

 पुस २३, २०७७ बिहिबार २०:३७:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : क्याेदाे

काठमाण्डाै – कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि जापानको राजधानी टोकियोमा आपत आपत्काल घोषणा गरिएको छ । जापान सरकारले बिहीबार (आज) एक महिना लामो आपत्काल घोषणा गरेको हो ।

प्रधानमन्त्री योशिहिदे सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि आपत्काल लगाउनुपरेको बताउनुभएको छ । टोकियो क्षेत्रमा घोषणा गरिएको आपत्काल शुक्रबार (भोलि) देखि लागू हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  

आपत्कालअन्तर्गत रेस्टुरेन्ट र बारमा बेलुका ७ बजेपछि जाँड–रक्सी बिक्री/वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ । यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागू हुने अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री सुगाले बार तथा रेस्टुरेन्टमा नजान युवाहरूलाई विशेष अनुरोध गर्नुभएको छ । टेकियोमा सङ्क्रमित भएकाहरूको उमेर अवस्था हेर्दा आधाभन्दा बढी तीन दशकभन्दा कम उमेरका भएको पाइएकाले पनि प्रधानमन्त्री सुगाले युवालाई विशेष आग्रह गर्नुभएको हो ।

सरकारले टोकियोमा सकेसम्म क्रेताले फोनबाट माग गर्ने र बिक्रेताले उनीहरूले माग गरेको ठाउँमा पुर्‍याइदिने व्यवस्था हुने गरी मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

जापानको राजधानी टोकियोमा दैनिक थप सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा बिहीबार दुई हजार चार सय ४८ जना थपिएका छन् । देशभरि सात हजार चार सय ९० जना सङ्क्रमित थपिएको पनि अधिकारीहरूले जनाएका छन् । जापानमा अहिलेसम्म तीन हजार सात सयभन्दा धेरैकाे कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया