नागरिकमा भ्रम नछर्न कांग्रेसलाई प्रधानमन्त्री ओलीको चेतावनी

 साउन ३१, २०७५ बिहिबार १४:३३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकमा भ्रम छर्ने चेष्टा नगर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई चेतावनी दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिस्पर्धाको राजनीतिमा आउन पनि नेपाली कांग्रेसलाई आह्वान गर्नुभयो । उहाँले भदौं १ गतेदेखि लागू हुने मुलुकी फौजदारी ऐनबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै सचेत रहन पनि सबैलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले एक वर्ष अघि बनेको त्यो ऐनमा चिकित्सकहरुलाई जन्मकैदको सजाय दिने व्यवस्था गरिएको भन्दै अन्त्यन्तै भ्रमपूर्ण प्रचार गरिएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न पार्टीका युवाहरुलाई पार्टीका प्रवेश गराउँदै उहाँले सरकार गतिका साथ अघि बढेको पनि दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पार्टीका प्रवेश गरेका युवाहरुले सही छनौट गरेर पार्टी प्रवेश गरेको उल्लेख गर्दै उनीहरुको विश्वासलाई अझै सुदृढ बनाएर लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले पार्टीमा प्रवेश गरेका युवाहरुले मौरीसँग उडान भरेको भन्दै फूलको थुंगामा पुग्नेमा ढुक्क हुन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले अन्य पार्टीहरुको उडानलाई झिंगासँग तुलना गर्दै फोहोरको डुंगुरमा फस्ने व्यंग पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन पनि पार्टीमा प्रवेश गरेका युवाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले विकास र समृद्धिको उडान भर्ने तयारी गरिरहेको दाबी गर्नुभयो । उहाँले पार्र्टीलाई फुटाउने र सरकारलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको दाबी गर्दै त्यसलाई चिरेर अघि बढने दृढता पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने एक मात्रै शक्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहेको पार्टीमा प्रवेश गरेका युवाहरुले पनि पुष्टि गरेको दाबी गर्दै राष्ट्र र नागरिकको हितमा सरकारलाई अझै मजदुतका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले पार्टीमा विभिन्न खालका चुनौति रहेको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढने पनि बताउनुभयो । कार्यक्रममा काठमाडौं, ललितपुर र ओखलढुंगाका विभिन्न राजनीतिक दलका युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया