प्राधिकरणको सीईओमा दोस्रो पटक ज्ञवाली, भन्छन् : तोकिएकै समयमा पुनर्निर्माणका काम सक्छु

 साउन ३१, २०७५ बिहिबार १५:३६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले तोकिएकै समयभित्र पुनर्निर्माणका काम सक्ने प्रतिवद्धता गर्नुभएको छ । 

बिहीबार पदबहाली गर्दै नवनियुक्त सीईओ ज्ञवालीले तत्काल पुनर्निर्माणको ठोस कार्ययोजना बनाएर अगाडि बढ्ने बताउनुभयो । उहाँले विगतमा भएका कामको समीक्षासहित छिट्टै नयाँ कार्ययोजना सार्वजनिक गर्ने जानकारी दिनुभयो । ज्ञवालीले स्थानीय तहसँगको सहकार्यमा नागरिक सहभागितामा पुनर्निर्माणमा काम गरी यो वर्षलाई पुनर्निर्माणको वर्ष बनाउने दावी समेत गर्नुभयो । 

सुरुवाति चरणमा पुनर्निर्माणको जग बसाल्ने काममा आफूसहित कर्मचारी संयन्त्र खटेको स्मरण गर्दै सीईओ ज्ञवालीले विगतको अनुभव र सिकाईबाट नै पुनर्निर्माणमा देखिएका समस्यालाई समाधान गर्ने दावी गर्नुभयो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कार्यसमिति सदस्य तथा कर्मचारीले स्वागत गरेका थिए । प्राधिकरणका सचिव अर्जुन कार्कीले पुनर्निर्माणमा देखिएका नीतिगत समस्या र झन्झटिला प्रक्रियालाई फुकाउँदै यसैवर्ष निजी आवास पुननिर्माणको काम सक्ने बताउनुभयो । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई प्राधिकरणको सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को असार २० गतेको निर्णयले युवराज भुषाल पदमुक्त भएपछि प्राधिकरण नेतृत्वविहीन थियो । 

प्राधिकरणमा तीन वर्षको अवधिमा पाँचपटक सीईओ परिवर्तन भएको छ । त्यस्तै सचिव र कर्मचारी पनि फेरबदल भैरहँदा पुनर्निर्माणमा प्रभावित हुँदै आएको छ । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्वन्धि ऐन २०७२ ले पुनर्निर्माणको अवधि ५ वर्ष तोकिएको छ ।

यो ऐन लागू भएको २ वर्ष ७ महिना बितिसकेको छ । भूकम्पले भत्केका झण्डै ८ लाख घर मध्ये अहिलेसम्म २ लाख ६९ हजार घर बनेको प्राधिकरणको तथ्याङक छ ।

  • लाभग्राही सूचीमा परेको संख्या ८ लाख ७४ हजार ८६
  • अनुदान सम्झौता सम्पन्न संख्या ७ लाख २२ हजार १ सय ७४
  • पहिलो किस्ता वितरण भएको ७ लाख १४ हजार १ सय ९६
  • दोश्रो किस्ता वितरण भएको ४ लाख ६९ हजार ४ सय ४८
  • तेस्रो किस्ता वितरण भएको  २ लाख २८ हजार ८९
  • निर्माण सम्पन्न भएका घर २ लाख ६९ हजार ५ सय ७३
  • बन्दै गरेका घरहरुको संख्या    ५ लाख ४१ हजार २७
     

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया