एसियाली खेलकुद : खस्कँदै नेपालको प्रदर्शन, राखेप सचिव धेरै पदक आउने गुड्डी हाँक्छन्

 साउन ३१, २०७५ बिहिबार १९:२५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एसियाली खेलकुद पर्सि शनिबारदेखि इन्डोनेसियाको जाकार्तामा सुरु हुँदैछ । 

जाकार्ता जानुअघि पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले विगतको भन्दा धेरै पदक आउने दावी गरेका छन् ।

तर उनले यो कुरा स्पष्ट भनेनन् कि अघिल्लो संस्करणभन्दा धेरै पदक आउँछ वा विगतको संस्करणका तुलनामा धेरै पदक स्वदेश भित्रिन्छ । परिषद्का सदस्यसचिव विष्टले नेपाली टिमको तयारी निकै राम्रो रहेकोले धेरै पदक भित्रिने दावी गर्दैगर्दा नेपालको खस्कँदै आएको नेपालको प्रदर्शनले कसरी एकैपटक फड्को मार्ला भन्ने प्रश्न त छँदैछ ।

एसियाली खेलकुद पहिलो पटक भारतको नयाँ दिल्लीमा १९५१ मा आयोजना भएको थियो । जहाँ नेपालले पनि सहभागिता जनाएको थियो । तर त्यसपछिको संस्करणमा भने नेपालले सहभागिता जनाएन । त्यसपछि सन् १९६२ को संस्करणबाहेक सबै संस्करणमा नेपालले सहभागिता जनाएको छ ।

नेपालले पहिलो पदक भने सन् १९८६ मा भएको दक्षिण कोरियाको सिओल संस्करणमा जितेको थियो । पहिलो पटक समावेश तेक्वान्दोबाट नेपालले चार वटा कास्य जितेको थियो भने त्यसबेला बक्सिङले पनि चारवटा कास्य हात पारेको थियो । त्यसपछि यस्तो सफलता नेपाली खेलकुदले कहिले पनि भोग्न र देख्न पाएन ।
 
नेपालका लागि सबैभन्दा सफल एसियाली खेलकुद त्यही नै थियो । मार्सल आर्टस्मा अब्बल मानिँदै आएको नेपालले त्यो भन्दो धेरै पदक कुनै संस्करणमा पनि जित्न नसके पनि त्यसपछिको कुनै संस्करणमा खाली हात फर्किनु भने परेको छैन । नेपालले एसियाडमा जितेको कुल २३ पदक तेक्वान्दो, कराते र बक्सिङबाट आएको हो ।

सन् १९९० मा चीनको बेइजिङमा भएको संस्करणमा बक्सिङले एकमात्र पदक जित्दै नेपाललाई खाली हात फर्कनबाट जोगाएको थियो ।

त्यसपछिका संस्करणमा कराते र तेक्वान्दोले मात्र पदक जित्दै आएका थिए । थाइल्याण्डको बैंककमा भएको १३औं संस्करणमा नेपालले पहिलो ऐतिहासिक रजत पदक जित्यो । जुन पदक तेक्वान्दोकी सविता राजभण्डारीले दिलाएकी थिइन् । त्यसबेला नेपालले एक रजतसँगै तीनवटा कास्य पदक पनि जितेको थियो ।

दक्षिण कोरियाको बुसान र कतारको दोहामा भएको त्यसपछिको दुई संस्करणमा तेक्वान्दो मात्र एक खेल थियो जसले नेपाललाई पदक जिताएको थियो । दुवै संस्करणमा दिपक विष्टले पदक जितेका थिए । एसियाली खेलकुुदमा दोहोरो पदक जित्ने विष्टमात्र एक्ला नेपाली खेलाडी हुन् ।

चीनको ग्वान्जाउ र दक्षिण कोरियाको इन्चोनमा भएको १६ औं र १७औं एसियाली खेलकुदमा नेपालको प्रदर्शन निकै खराब रह्यो । दुवै संस्करणमा नेपालले एक–एक कास्य जितेको थियो ।

एसियाली खेलकुदमा नेपालको प्रदर्शन

१०औं एसियाली खेलकुद (सिओल, दक्षिण कोरिया)– १९८६

स्व. दलबहादुर रानामगर        बक्सिङ         कास्य
तुलबहादुर थापा                बक्सिङ         कास्य
सुशिल पोखरेल                 बक्सिङ         कास्य
मनोज बहादुर श्रेष्ठ             बक्सिङ         कास्य
राजकुमार राई                 तेक्वान्दो        कास्य
विधान लामा              तेक्वान्दो            कास्य
रामबहादुर घर्ति क्षेत्री       तेक्वान्दो            कास्य
राजकुमार बुढाथोकी        तेक्वान्दो            कास्य

११औं एसियाली खेलकुद (बेइजिङ, चीन)– १९९०

चित्रबहादुर गुरुङ           बक्सिङ              कास्य

१२औं एसियाली खेलकुद (हिरोसिमा, जापान)–१९९४

मानबहादुर शाही          तेक्वान्दो        कास्य
सीता राई                तेक्वान्दो        कास्य
 
१३औं एसियाली खेलकुद (बैंकक, थाइल्याण्ड)– १९९८

सविता राजभण्डारी         तेक्वान्दो        रजत
किशोर श्रेष्ठ              तेक्वान्दो        कास्य
सपना मल्ल              तेक्वान्दो        कास्य
साम्बर बहादुर गोले        कराते          कास्य

१४औं एसियाली खेलकुद (बुसान, दक्षिण कोरिया)– २००२

दिपक विष्ट          तेक्वान्दो        कास्य
रेनुका रानामगर      तेक्वान्दो        कास्य
ऋतु जिमी राई       तेक्वान्दो        कास्य

१५औं एसियाली खेलकुद (दोहा, कतार)– २००६

दिपक विष्ट          तेक्वान्दो        कास्य
आयशा शाक्य        तेक्वान्दो        कास्य
मनिता शाही         तेक्वान्दो        कास्य
 
१६औं एसियाली खेलकुद (ग्वान्जाउ, चीन)– २०१०

दिपक महर्जन        बक्सिङ         कास्य
 
१७औं एसियाली खेलकुद (इन्चोन, दक्षिण कोरिया)– २०१४

विमला तामाङ       कराते          कास्य
 
१८औं एसियाली खेलकुद (जाकार्ता–पालेम्बाङ, इन्डोनेसिया)– २०१८   ??? 

श्रोतः नेपाल ओलम्पिक संग्रहालय

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया