नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने कुरा भारतले न ‘रिजेक्ट’ गर्‍याे, न ‘एसेप्ट’ : वाजपेयी

 साउन ३१, २०७५ बिहिबार २०:५५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

प्रधानमन्त्रीको रुपमा वाजपेयी सन् २००१ मा सार्क सम्मेलनको क्रममा काठमाडौं आएका थिए । त्यसअघि उनी सन् १९७७ मा विदेशमन्त्रीको रुपमा नेपाल आएका थिए । सन् १९७७ मा नेपाल आएका तत्कालीन भारतीय विदेशमन्त्री अटल बिहारी वाजपेयीले नेपालले संयुक्त राष्ट्रसंघमा नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव पारित गर्ने कुरालाई खुल्ला हृदयले हेरेको बताएका थिए ।

काठमाडौंमा नेपाली नेताहरुसँग कुराकानी गरेर नयाँ दिल्ली फर्केपछि उनले नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई भारतले ‘रिजेक्ट’ पनि नगरेको र ‘एसेप्ट’ पनि नगरेको बताएका थिए । उनले भारत त्यस मामिलामा तटष्थ बस्ने बताएका थिए । त्यसबेला भारतले नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई अस्वीकार गरिरहेको थियो ।

विभिन्न भू–राजनीतिक आधार देखाउँदै भारतले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न हुँदैन भन्ने विचार व्यक्त गरिरहेको थियो ।  वाजपेयीले काठमाडौं आएर नेपाली नेताहरुलाई भारतले शान्ति प्रस्तावलाई खुल्ला हृदयले हेर्ने आश्वासन दिएका थिए । त्यतिबेला नेपालका राजा वीरेन्द्र शाह थिए भने प्रधानमन्त्री तुलसी गिरी थिए । उनले तत्कालीन विदेश मन्त्री कृष्णराज अर्याल र अन्य नेताहरुसँग भेट गरेका थिए । 

वि.स.२०३१ मा राजा वीरेन्द्रले आफ्नो राज्याभिषेकको अवसरमा अन्तर्राष्ट्रिय समुदायसँग  नेपाल  शान्ति क्षेत्र भएको प्रस्ताव पारित गर्न सहयोग माग्नुभएको थियो । त्यतिबेला १३० राष्ट्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न समर्थन गरेका थिए ।

संयुक्त राष्ट्रसंघ राजा वीरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव पुर्याएका थिए तर भारत र तत्कालीन सोभियत संघले त्यसलाई अस्वीकार गरेको थियो । अमेरिकालगायत विश्वको प्रमुख राष्ट्रले त्यो प्रस्ताव स्वीकार गरेका थिए ।

तत्कालीन समयमा अटल बिहारीले नेपालसँग भारतले विशेष सम्बन्ध राख्ने संयुक्त वक्तव्य निकालेका थिए ।

-द इन्डियन एक्सप्रेसबाट
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया