च्यानडाँडाका १० घर पहिरोको उच्च जोखिममा

 भदौ १, २०७५ शुक्रबार ७:४४:१३ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहाको च्यानडाँडामा रहेको १० घर पहिरोको उच्च जोखिममा परेका छन् ।

पहिरोले स्थानीय टिकाराम श्रेष्ठ, अर्जुन श्रेष्ठ, गिता श्रेष्ठ, मोहन गुरुङ, रबिन्द्र गुरुङ, चन्द्रबहादुर गुरुङ, कुमार श्रेष्ठ, मनिराज गुरुङ, गौरीमान गुरुङ र दोर्ची भोटेको घर उच्च जोखिममा परेको हो । जोगवनी—किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको कोशील्हासा राजमार्गको च्यानडाँडा सडकखण्डमा यी घरहरु पर्छन् । निरन्तरको वर्षाले पहिरो झर्न थालेपछि सडकखण्ड भन्दा माथि रहेको घरहरु पहिरोको उच्च जोखिममा परेको स्थानीयको भनाइ छ ।

‘बर्खाको समय छ, रातभर पानी पर्छ, घरको आँगन समेत पहिरोले खस्न लागिसक्यो’ स्थानीय गीता श्रेष्ठले भन्नुभयो, ‘ यसबारेमा खाँदबारी नगरपालिका र वडा कार्यालयमा पुगेर आफूहरुको अवस्था बारे जानकारी पनि गराएको छु । हामीलाई यहाँबाट तत्काल स्थानान्तरण गराए हुन्थ्यो ।’  

बस्तीभन्दा तलबाट सडक विस्तार भएपछि सडकको भित्तामा पर्खाल नलगाउँदा पनि पहिरो झरेको हो । हामीले पहिला नै पहिरोको जोखिम हुन्छ । यसरी बाटो खन्दा भित्तामा बलियो पर्खाल लगाइदिन माग गरेका थियौँ तर कतैबाट सुनुवाई भएन ।’ स्थानीय मोहन गुरुङले बताउनुभयो ।

गाउँमा ठूलो पहिरो झर्न थालेपछि तत्काल कसरी रोकथाम र व्यवस्थापन गर्न सकिन्छ भनेर वडाले मूल्याङकन गरेर नगरपालिका र विपद व्यवस्थापन समिति जिल्ला प्रशासनमा निवेदन पेश गर्न फाइल तयार गरिसकेको खाँदबारी नगरपालिका वडा नम्बर–४ का वडासदस्य जितबहादुर गुरुङले जानकारी दिनुभयो । 

उहाँको अनुसार ४ नम्बर वडामा नै पर्ने ती १० घर बाहेक भ्याङखोला—दिदिङ्ग सडकखण्डमा रहेको बालकुमार विश्वकर्माको घर समेत पहिरो जाने खतरामा रहेकाले रोकथामको लागी सिफारिस गरिएको बताउनुभयो । 
    
 

अन्तिम अपडेट: चैत १५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया