भूकम्प पीडितले लिएकाे ऋणकाे ब्याजदर नबढ्ने

 भदौ १, २०७५ शुक्रबार १८:३५:५९ | उज्यालो सहकर्मी

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैँकलाई भूकम्प पीडितहरुको कर्जामा दिँदै आएको पुनर्कर्जा पुनर्निर्माण अवधिभर कायम राख्न निर्देशन दिनुभएको छ ।

पुनरकर्जाको म्याद सकिएको भन्दै बैँकहरुले भूकम्प प्रभावितसँग २ प्रतिशतबाट व्याज बढाएर १६ प्रतिशतसम्म ब्याज लिन थालेका थिए । निर्देशनसँगै भूकम्प पीडितले लिएको ऋणको व्याज २ प्रतिशत भन्दा नबढ्ने भएको छ । 

शुक्रबार अर्थ मन्त्रालयको साउन महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्दै उहाँले भूकम्प पीडितले लिएको ऋणको ब्याज २ प्रतिशत भन्दा नबढने पनि स्पष्ट पार्नुभयो । भूकम्प पीडितले विभिन्न बैंकबाट लिएको ऋणको ब्याज २ प्रतिशतभन्दा बढी नलिन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइएको अर्थमन्त्री खतिवडाले बताउनु भएको हो ।

अर्थ मन्त्रालयले साउन महिनामा अघिल्लो वर्षको त्यही अवधिको भन्दा ३७ प्रतिशत बढी राजस्व संकलन गर्न पनि सफल भएको छ । अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षको पहिलो महिना श्रावणमा लक्ष्य भन्दाबढी राजस्व संकलन गर्न सफल भएको बताउनुभयो । सरकारले साउन महिनामा २६ अरव खर्च गरेको पनि अर्थ मन्त्रालयले जनाएको छ । त्यसमध्ये १६ अर्ब स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पनि अर्थमन्त्री खतिवडाले जानकारी दिनु भयो ।

अर्थ मन्त्रालयले साउन महिनामा मात्रै ११ वटा कर कार्यालय थप गरिएको पनि जनाएको छ । अर्थमन्त्री खतिवडाले उखु किसानलाई उत्पादनको आधारमा अनुदान दिने कार्यविधि पनि तय गरिएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया