प्रदेश २ सरकारको कार्यालयकै सामुन्ने रहेको भूमिसुधार कार्यालयमा खुलेआम घुसखोरी

 भदौ १, २०७५ शुक्रबार १९:१६:१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - जिल्ला भूमिसुधार कार्यालय धनुषामा कर्मचारीले सेवाग्राहीबाट घुस लिने गरेको खुलासा भएको छ ।

जनकपुरमा प्रदेश नं.२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि रहेको भूमिसुधार कार्यालयमा जग्गाको कामको लागि जाने सेवाग्राहीबाट विभिन्न बहानामा कर्मचारीहरुले सयदेखि हजार रुपैयाँसम्म घुस लिने गरेको खुलेको हो ।

कार्यालयमा करारमा रहेका कर्मचारी विनोद मेस्तरले सेवाग्राहीके काम गरिदिएवापत सयदेखि हजार रुपैयाँ लिने गरेके छन् ।

मोही कट्टाको लागि फारम भर्न आएकी धनुषा क्षीरेश्वरनाथ नगरपालिका-५, पर्वता बस्ने समुखियादेवीले कर्मचारी मेस्तरले काम गरिदिने भन्दै आफुसFग ५ सय रुपैयाँ घुस लिएको बताउनुभयो । काम गरिदिने भन्दै मेस्तरले चार दिनअघि ५ सय रुपैयाँ लिए पनि अहिलेसम्म काम गर्न आलटाल गरिरहेको समुखियादेवीको गुनासो छ ।

यस्तै क्षीरेश्वरनाथ नगरपालिका-१, रमदैया बस्ने विन्देश्वर यादवले आफुसँग मेस्तरले ३ सय रुपैयाँ लिएको सुनाउनुभयो । सबैला नगरपालिका-१२ रघुनाथपुरका मोहम्मद रजवारले कर्मचारीले घुस दिए काम गरिदिने नदिए नगर्ने भन्दै घुस मागिरहेको गुनासो गर्नुभयो ।

उहाँले कर्मचारी मेस्तर सर्वसाधारणको काम छाडेर मदिरा खान जाने गरेकोसमेत आरोप लगाउनुभयो ।

उहाँहरु जस्तै कार्यालयमा कामका लागि आएका प्रायः सर्वसाधारणहरु सेवाग्राहीहरुले भूमिसुधार कार्यालयका कर्मचारीहरुको विषयमा यस्तै गुनासो गर्ने गरेका छन् ।

कार्यालयका नायब सुब्बा सिंहलाल स्याङ्वाले कर्मचारी मेस्तर मार्फत घुस लिने गरेको सेवाग्राहीहरुको गुनासो छ ।

यता कर्मचारी मेस्तरले सेवाग्राहीबाट घुस लिने गरेको अफैंले स्वीकार गरे । ‘काम चाँडो गरिदिन सेवाग्राहीले ५ सयदेखि हजार रुपैयाँ दिँदा आफूले लिने गरेको छु’ मेस्तरले भने ‘तर मैले कसैसँग करकाप गरेर पैसा लिएको होइन ।’

कार्यालयकै नायव सुब्बा सिंहलाल स्याङ्वाले आफूले कुनै सेवाग्राहीसँग पैसा नलिएको दावी गर्नुभयो ।

तर, कागजातको फोटोकपी कार्यालयकै कर्मचारीसँगै बाहिर गएर गराउनुपर्ने भएकाले त्यस वापत सेवाग्राहीले दुईसय रुपैँया लिने गरेको  स्याङ्वाको भनाई छ । उहाँले कार्यालयमा कर्मचारी ४ जनामात्र रहेको तर सेवाग्राहीको चाप बढी हुने गरेकाले काम गर्न निकै समस्या हुने गरेको गुनासोसमेत गर्नुभयो ।

भूमिसुधार कार्यालयका प्रमुख रामबाबु मण्डलले सेवाग्राहीबाट कर्मचारीले घुस लिने गरेको कुरा झुटो रहेको दावी गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया