तुल्सीलाल स्मृति बुद्धिचाल प्रतियोगिता: थापाथली चेस पार्कलाई उपाधि

 भदौ १, २०७५ शुक्रबार १९:४०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - तुल्सीलाल स्मृति चौथो राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिताको उपाधि थापाथली चेस पार्कले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनलमा थापाथलीले ललितपुर स्पोर्टस क्लबलाई १ अंकले पछि पार्दै उपाधि थापाथलीले उपाधि जितेको हो । ललितपुरले १.५ अंक पाएको थियो भने थापाथलीले २.५ अंक बटुलेको थियो ।

थापाथलीका सुशिल चौधरी र क्षितिज भण्डारीले क्रमशः जनार्दन श्रेष्ठ र बद्रिलाल नेपालीलाई हराएका थिए । 

आशिष फुयाँल र फिडेमास्टर विलमलाल श्रेष्ठबीचको खेल भने बराबरीमा टुंगिएको थियो । ललितपुरका सजिन महर्जनले थापाथलीका राजन पुरीलाई हराए ।

उपाधिसँगै थापाथलीले एक लाख पचास हजार रुपैयाँ जितेको छ । दोश्रो  भएको ललितपुरले नगद ७५ हजार हात पार्यो ।

त्यसैगरी गोल्डेनगेट इन्टरनेशनल कलेज र गजुरमुखी चेस क्लब इलामबीच तेश्रो स्थानको लागि भएको खेलमा गोल्डेनगेट ३–१ ले विजयी भएको छ ।

गोल्डेनगेटका केशब श्रेष्ठले कृष्ण थापा, सुरबीर लामाले फिडेमास्टर मनिष हमाल तथा भुपेन्द्र निरौलाले प्रकाश नेपाललाई हराएका थिए ।

वर्तमान राष्ट्रिय विजेता मदनकृष्ण कायस्थ रिजेन्द्र राजभण्डारीसित पराजित भएका थिए । गोल्डेनगेटले नगद ५० हजार रुपैयाँ जित्यो भने गजुरमुखीले नगद ३० हजारमा रुपैयाँ प्राप्त गर्यो ।

पाँच दिने प्रतियोगितामा स्वीस लिग सात राउण्डको खेलमा व्यक्तिगत रुपमा उत्कृष्ठ प्रदर्शन गरेका खेलाडीहरु क्रमशः जिल्ला बुद्धिचाल संघ भक्तपुरका राज प्रजापति, गजुरमुखीका मनिष हमाल, गोल्डेनगेटका मदनकृष्ण कायस्थ, शहिद शुक्र क्लबका राजेन्द्र बज्राचार्य र थापाथलीका सुशील चौधरीलाई जनही नगद पाँच हजार प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजयी तथा सहभागी क्लब टिमहरुलाई पूर्व श्रम तथा यातायात मन्त्री रघुजी पन्त, तुल्सीलाल स्मृति प्रतिष्ठानका सुरेन्द्र मोहन शर्मा लगायतले नगद, ट्रफि, तक्मा र प्रमाणत्र प्रदान गरे ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको सहकार्यमा नेपाल बद्धिचाल संघको आयोजना र ललितपुर स्पोर्टस क्लबको व्यवस्थापनमा सञ्चालित प्रतियोगितामा देशभरका २१ क्लब टिमहरुको सहभागिता रहेको थियो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया