साउने पिङ्गमा रमाउँदै थारु समुदायले तीज मनाए

 भदौ २, २०७५ शनिबार ६:४:२९ | रासस
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुर बेदकोट नगरपालिका–९ स्थित उदय माध्यमिक विद्यालयका कक्षा–९ मा अध्ययनरत १६ वर्षीया पार्वती राना शुक्रबार परम्परागत पहिरन (घगंरिया र अंगिया) लगाएर पिङ्ग खेलिरहेको अवस्थामा भेटिनुभयो । 

गाउँमा रहेको राना थारु समुदायको भूमसेन राना समाजले आयोजना गरेको तीज विशेष कार्यक्रममा पार्वतीजस्तै तमाम राना थारु समुदायका युवतीदेखि वृद्धासम्म परम्परागत पहिरनमा सजिएर आफ्नै रितीरिवाजलाई निरन्तरता दिइरहेको देखिन्थे । 

अन्य समुदायको भन्दा पृथक रुपमा विगतको कला संस्कृति झल्कने गरी तीज मनाइरहेका थारु समुदायले दाजुभाइको दीर्घायुका लागि लामो समयदेखि तीज मनाउने गरेको भूमसेन राना समाजका अध्यक्ष रामदिन रानाले जानकारी दिनुभयो । 

राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रितिरिवाजहरु लोप भइरहेका बेला सुन्दरपुरमा भने परम्परागत साउने डोला (पिङ्ग) नै स्थापना गरेर राना थारु सुमदायले बृहत् रुपमा तीज मनाएका छन् । 

‘धेरै पहिला हाम्रो समुदायले एकै दिन साउनमा तीज मनाउने प्रचलन थियो,’ गाउँका वृद्ध छञ्चु रानाले रासससित भन्नुभयो, “विगतको भन्दा अहिले चाडपर्व धेरै लोप भइसकेका छन् ।” साउने पिङ्गमा चढेर रमाउँदै परम्परागत गीत गाएर महिलाहरुले दाजुभाइको दीर्घायुको कामना गर्ने प्रचलन रहेको उहाँले बताउनुभयो । 

“तीज वर्षेनी मनाए पनि त्यसको विधि र प्रक्रिया भने धेरैले छाडिसके,” रानाले भन्नुभयो, “हाम्रो कला, संस्कृति विविधता झल्किने खालको भए पनि लोप हुँदै गएको छ ।” 

‘संस्कृति बचाउ, विकृती हटाऊँ’ भन्ने नाराका साथ आयोजना गरिएको तीज कार्यक्रममा वेदकोट नगरपालिकाका उपप्रमुख सुशीला सिंहदेखि गाउँका अन्य समुदायको समेत उल्लेख्य सहभागिता रहेको थियो । 

कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदायले परम्परागत रुपमा हरेक वर्ष साउन महिनाको पूर्णिमादेखि मनाउने गर्दछन । 

पचासी परिवार राना थारु समुदाय रहेको सुन्दरपुरमा युवा पुस्तालाई पनि आफ्नो संस्कृति र रितीरिवाजबारे जानकारी गराउने उद्देश्यले पनि तीज कार्यक्रम गरिएको भुमसेन राना समाजका अगुवाहरुको भनाई छ । 

‘बिहान चोखो बसेर व्रत उपासना गरी थारु महिलाहरू तीज व्रतको दिन दिउँसो थारु परिकार (सिमही, पुरीलगायत)बाट पुजाअर्चना गर्ने गरेका छन् । 

त्यसका साथै गाउँमै पिङ्ग ९साउने डोला० बनाएर महिलाहरु परम्परागत गीत गाउँदै डोलामा रमाउने परम्परा अनुरुप रितीरिवाजलाई निरन्तरता दिइएको स्थानीय पशुपति रानाले जानकारी दिनुभयो । 

दीर्घायुका साथै वर्षा होस् भनेर पिङ्गमा रमाउँदै गीत गाउँने प्रचलन रहेको उहाँको भनाई छ । गाउँमा भलमन्साले भने अनुसार नै तीजको मिति तय गरेर मनाउने गरिएको छ । “हाम्रो समुदायले खासमा एउटै मितिमा तीज पर्व मनाउनु पर्ने हो,” स्थानीय रामस्वरुप रानाले भन्नुभयो, “गाउँ पिच्छे फरक÷फरक मितिमा मनाउँदा तीज प्रतिको आकर्षण पनि घट्ने स्थितिमा छ ।” 

कञ्चनपुरको शङ्करपुर, गञ्ज, कस्बा, पुरैना, जाइँ, देखतभुली, दैजी, भीमदत्तनगरपालिका र वेदकोटमा राना थारुको बसोबास बढी रहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया