विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने

 भदौ २, २०७५ शनिबार ६:१३:१८ | रासस
unn.prixa.net

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । शुक्रबार बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ वा छोटकारीमा ‘अखिल’ राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिनुभयो । यसअघि एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) नाम रहेका थिए । 

नेतृत्वमा अझै सहमति हुन सकेको छैन । नयाँ बन्ने सङ्गठनको नेतृत्वका लागि रञ्जीत तामाङ र ऐन महर, उपाध्यक्ष महेश बर्तौला र सचिव सुरेश पराजुली दाबेदार रहेका छन् । 

तामाङले शनिबारसम्म नेतृत्व टुङ्ग्याएर नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउने बताउनुभयो । केन्द्रीय कमिटीमा पनि ४९९ राख्ने सहमति भएको छ । केन्द्रीय कमिटीमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने सहमति भएको छ । 

कार्यदलले विधान र राजनीतिक तथा शैक्षिक विषयमाथि थप अध्ययन गर्ने भएको छ । विधानका लागि अनेरास्ववियुका अध्यक्ष लामा र क्रान्तिकारीका तामाङ तथा राजनीतिक र शैक्षिक विषयका लागि अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेल र किशोरविक्रम मल्ल तथा क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ललाई जिम्मा दिइएको छ । 

नेकपाको अर्को भ्रातृ सङ्गठन युवा सङ्गठनको युवा सङ्घ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल) अझै एकताको खाका टुङ्गिएको छैन । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले नाम, नेतृत्व र केन्द्रीय कमिटीमा रहेने सदस्यको नाम अझै नटुङ्गिएको बताउनुभयो । उहाँले छलफलकै क्रममा रहेकाले शनिबारसम्म नाम, नेतृत्व र केन्द्रीय कमिटीको सङ्ख्यामा सहमति गरिने जानकारी गराउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया