प्रधानमन्त्री ओलीलाई प्रदेश २ मा भव्य स्वागत गरिने, पहिलो पटक प्रधानमन्त्री ओली र प्रचण्ड धनुषा आउँदै

 भदौ २, २०७५ शनिबार ६:३७:५५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड शनिबार पहिलोपटक एकैसाथ धनुषा आउन लागेका छन् । 

तत्कालीन नेकपा माओवादीको दशवर्षे जनयुद्धका सहिद रामवृक्ष यादवको २४ औं स्मृतिसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड धनुषा आउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले स्मृतिसभालाई सम्बोधन गर्नुअघि शनिबार बिहान ११ बजे प्रदेश नं. २ को प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिहान साढे १० बजे जनकपुर विमानस्थलमा आएर प्रधानमन्त्री ओली सिधा प्रदेशसभामा जानुहुने छ । प्रदेशसभामा उहाँलाई भव्य स्वागत गर्ने तयारी गरेको छ । 

प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गर्ने हुँदा अनिवार्य उपस्थितिका लागि प्रदेश २ का सबै सांसदलाई म्यासेज पठाइएको सभामुख सरोज यादवले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई भव्य स्वागत गर्न जनकपुर विमानस्थलदेखि प्रदेशसभासम्म ५ वटा स्वागत गेट निर्माण गरिएको छ । प्रदेशसभामा सम्बोधनपश्चात ओलीलाई प्रदेशसभा परिसरमै मिथिला भोजन दाल,भात, तरुवा, तरकारी, करही बरी र माछालगायत खाना खुवाएर पनि स्वागत गर्ने तयारी रहेको सभामुख यादवले बताउनुभयो ।   

‘प्रधानमन्त्री प्रदेशसभामा आएर सम्बोधन गर्नु हाम्रो लागि सौभाग्यको कुरा हो । हामी उहाँको स्वागतमा कुनै कसर बाँकी राख्दैनौँ’ सभामुख यादवले भन्नुभयो, ‘मलाई विश्वास छ, प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनको क्रममा प्रदेश २ को विकासका लागि विशेष घोषणा गर्नुहुनेछ ।’

प्रदेशसभामा सम्बोधन हुने भएपछि प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायत संघीय सांसद एवं अतिथिहरु प्रदेशसभामा आउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभामा सम्बोधन पश्चात ओली र प्रचण्डलगायत संघीय मन्त्रीहरु धनुषाको बरमझियामा आयोजना हुने सहिद रामबृक्ष यादवको स्मृतिसभामा सहभागी हुने कार्यक्रम छ । ओली र प्रचण्ड पहिलो पटक यादवको स्मृतिसभालाई संयुक्त रुपमा सम्बोधन गर्न लागेका हुन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया