चेल्सीले आर्सनललाई हरायो, प्रशिक्षक सार्री भन्छन् ‘यही पाराले उपाधि जित्न गाह्रो छ’

 भदौ ३, २०७५ आइतबार ७:१८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई ३–२ ले हराएको छ । गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा चेल्सीलाई जिताउन पेद्रो, मोराटा र ओलोन्सोले गोल गरे । 

खेलको ३७ औ मिनेटसम्म चेल्सीले २ शून्यको अग्रता लिएको थियो तर आर्सनलका म्खित्र्यानले ३७ औ र इवोभीले ४१ औ मिनेटमा गोल गर्दै पहिलो हाफसम्मको खेल २–२ को बराबरीमा पुर्याए । २ शून्यले पछि परेको अवस्था उल्ट्याए पनि अन्ततः आर्सनलले हार भने टार्न सकेन । ८० मिनेटसम्म बराबरीमा रहेको खेलको ८१ औँ मिनेटमा ओलोन्सोले गोल थपे । यहि गोल चेल्सीका लागि विजयी गोल बन्यो । र, २ खेलबाट ६ अंक बनाउँदै चेल्सी अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । 

तर चेल्सीका प्रशिक्षक मोउरिजिओ सार्रीले प्रिमियर लिगको उपाधि जित्न चेल्सीलाई सजिलो नभएको प्रतिक्रिया दिएका छन् । म्यानचेष्टर सिटीको उपाधि जोगाउने यात्रा रोक्न र चेल्सीले उपाधि जित्न चेल्सीका खेलाडीले अझै धेरै सुधार गर्नुपर्ने उनको भनाई छ । 

आजको खेल ७५ औ मिनेटसम्म रमाइलो भएपनि त्यसपछिको १५ मिनेट भने भयानक रहेको सार्रीको टिप्पणी छ ।

खेलको शुरुवाती २० मिनेटमै २ गोल गरे पनि त्यसपछि पहिलो हाफभित्रै २ गोल खाएको प्रति सार्री असन्तुष्ट देखिएका थिए । तर टिमप्रति आशावादी हुँदै उनले भने – ‘अबका २ महिनामा टिमले कमजोरी सुधार्ने र आर्सनलसँगको शुरुवाती २५ मिनेटको जस्तै खेल प्रस्तुत गर्नेमा आफू आशावादी छु ।’

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया