प्रतिबन्धहरु फुकुवा गर्न अमेरिकासँग इरानको आग्रह

 फागुन ८, २०७७ शनिबार ९:०:१४ | रासस
unn.prixa.net

काठमाण्डाै - इरानले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरु फुकुवा गर्न नयाँ अमेरिकी प्रशासन समक्ष आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इरानको आणविक समस्यालाई लिएर वार्ता गर्न इच्छा व्यक्त गरेलगत्तै इरानले यस्तो धारणा सार्वजनिक गरेको हो । 

इरानी विदेश मन्त्री मोहम्मद जावाद जरिफले ट्वीट गर्दै पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरु बिना शर्त र प्रभावकारी रुपबाट तत्कालै फिर्ता लिन आग्रह गर्नु भएको छ । 

युरोपेली गठबन्धनका देशहरुको अगुवाइमा बाइडेन प्रशासनले इरानसँग वार्ता गर्न इच्छुक रहेको जनाएको थियो । इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई बचाउन पनि अमेरिका र युरोपेली देशहरु एक ठाउँमा उभिन लागेका हुन् ।

इरानले आणविक सम्झौता कायम राख्न आइतवारसम्मको समयावधि तोकेको थियो । इरानको परिस्थिति निकै नाजुक बनिसकेको जनाउँदै अझै युरोपेली देशको मात्र कुरा सुनेर धैर्य गर्न नसकिने इरानको भनाइ थियो । अमेरिकी नयाँ विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरानलाई आइतवारकै समयसीमा नतोक्न आग्रह गर्नु भएको थियो ।

फ्रान्स, बेलायत र जर्मनीका विदेश मन्त्रीहरुसँगको भिडियो कन्फेरन्स सम्पन्न भएको केही घण्टापछि युरोपेली युनियनका राजनीतिक निर्देशक एन्रिक मोराले ट्वीट गर्दै इरान र अमेरिका सम्मिलित अनौपचारिक बैठक गर्न सहमति जुटेको जानकारी दिनु भएको थियो । 

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले इरानी आणविक कार्यक्रमका बारेमा कूटनीतिक पहलका लागि इरान र आणविक सम्झौताका पक्ष राष्ट्रहरुबीच छलफल गर्न गरिएको निमन्त्रणालाई अमेरिकाले स्वीकार गरेको बताउनु भएको छ । 

इरानको सन् २०१५ को आणविक सम्झौतामा राष्ट्रसङ्घको स्थायी समितिका सदस्यहरु बेलायत, चीन, फ्रान्स, रसिया र अमेरिका तथा जर्मनीले हस्ताक्षर गरेका थिए । यस सम्झौता तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको अग्रसरतामा भएको थियो । सम्झौतापछि इरानले आफ्नो आणविक कार्यक्रमलाई व्यापक कटौती गरेको थियो जसको बदलामा इरानमाथि लागेका आर्थिक नाकाबन्दीहरु फुकुवा गरिएको थियो । 

तर आणविक सम्झौताप्रति विमति राख्दै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा यस सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरी इरानविरुद्ध कडा प्रतिबन्धहरु लगाउनु भएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया