लमजुङका किसानलाई कोदो रोप्ने चटारो (फोटोफिचर)

 भदौ ३, २०७५ आइतबार ११:५७:५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – ऐसेलुचौरकी सुनिता तामाङलाई पाखो बारीमा कोदो रोप्ने चटारो छ । बारीको मकै थन्काइ सक्दा नसक्दै ब्याडमा कोदोको बीउ हुर्किदै गएपछि कोदो रोप्न भ्याइनभ्याइ भएको उहाँले बताउनुभयो । 

खेतीपाती गर्ने किसानहरुलाई अहिले खेताला नपाउने समस्या झन् झन् बढीरहेको उहाँ बताउनुहुन्छ । 

‘खेताला पाउनै मुश्किल छ, पाइहाले ज्याला महँगो, उहाँले भन्नुभयो, ‘तैपनि बारी बाँझै राख्न भएन त ।’ अहिले रोपाहारलाई ५ सय र कोदालेले ९ सय रुपैयाँ ज्याला दिनुपर्छ । 

सुनिता जस्तै ऐसेलुचौरकै आइतीमाया तामाङलाई पनि अहिले बारीमा कोदो रोप्न भ्याइनभ्याई छ । 

आइतीमायाले चाहिँ खेताला नपाएपछि अर्मपर्म गरेरै कोदो रोपिरहेको बताउनुभयो । 

आकर्षण घट्दो 

कोदो खेती प्रति लमजुङमा आकर्षण घट्दो रहेको ग्रामीण भेगका बासिन्दा बताउँछन् । गाउँमा खेतीपाती गर्ने मान्छे छैनन् । धेरैजसो युवा विदेश गएको तथा गाउँ छोडेर शहरतिर बस्ने क्रम बढ्दै गएकाले पनि खेती गर्नेहरु घटेका हुन् ।

 लमजुङकोे इलमपोखरी, नौथर, पाचोक, गौँडा, नाल्मालगायतका धेरैजसो ग्रामिण क्षेत्रका कोदो खेती हुने गरेपनि बर्सेनि बारी बाँझै रहने क्रम बढेको स्थानीय बासिन्दा बताउँछन् । 

पुरानै बीउ र परम्परागत ढंगले कोदो खेती गर्नाले पनि लमजुङमा तुलनात्मक रुपमा कोदोको उत्पादन बढ्न सकेको छैन । 

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया