सात महिनामा ४९ अर्ब रुपैयाँको खाद्यान्न भित्रियो, सात खर्ब ३३ अर्बको व्यापार घाटा

हरिया तरकारीदेखि फलफुल र दाल, चामल पनि नेपालले विदेशबाटै किन्याे

 फागुन १०, २०७७ सोमबार १७:४४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो सात महिनामा झण्डै ४९ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । साउनदेखि माघसम्म ४८ अर्ब ८७ करोड रुपैयाँको खाद्यान्न विभिन्न देशबाट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

हरिया तरकारीदेखि फलफुल र दाल, चामल पनि नेपालले विदेशबाटै किनेको छ । सात महिनामा झण्डै २० अर्ब रुपैयाँ बराबरको धान चामल मात्रै आयात भएको छ । 

सात महिनामा व्यापार घाटा पनि सात खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । नेपालले विदेशबाट आठ खर्ब तीन अर्ब ६० करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । तर यसै अवधिमा नेपालले जम्मा ६९ अर्ब ९१ करोड रुपैयाँको वस्तु तथा सेवा मात्रै निर्यात गर्न सकेको छ । आयात शून्य दशमलव शून्य एक प्रतिशतले बढेको छ भने निर्यात सात दशमलव ६१ प्रतिशतले बढेको छ । 

नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ । भारतबाट सात महिनामा पाँच खर्ब ३१ अर्ब ९५ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ भने जम्मा ४९ अर्ब ९३ करोड रुपैयाँको निर्यात भएको छ । भारतसँग चार खर्ब ८२ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया