नेकपामा प्रवेश गरिसकेको छैन – हृदयेश त्रिपाठी

 भदौ ३, २०७५ आइतबार १३:२१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौं सूर्य चिन्ह लिएर प्रतिनिधिसभाको चुनाव लडेका सांसद हृदयेश त्रिपाठीले आफू नेकपामा प्रवेश गर्न बाँकी नै रहेको बताउनुभएको छ ।

केही दिनअघि आफू विधिवत रुपमा नेकपामा प्रवेश गरेको भन्ने खबर झुटो भएको उहाँले स्पष्ट पार्नुभएको छ । ‘नेकपाका शीर्ष नेताहरुसँग छलफल भैरहेको छ, तराई मधेशबारे पार्टीको सैद्धान्तिक दृष्टिकोण कस्तो हुन्छ भन्ने प्रष्ट भैसकेपछि मात्र यसबारे निर्णय हुन्छ’, उज्यालोसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘तराईका नागरिकबारे नेकपाको नीति, कार्यक्रम र योजना स्पष्ट भैसकेपछि मात्र प्रवेश गर्ने, नगर्ने टुंगो लाग्छ ।’

नेकपामा प्रवेश गर्नकै लागि आफूले सूर्य चिन्ह लिएर चुनाव लडेको, तर नेकपाको प्रष्ट योजना आउन बाँकी भएकाले अहिल्यै नै प्रवेश गर्ने बेला नभएको उहाँको भनाई छ । यसअघि नेकपाका सांसद तथा नेतृ रामकुमारी झाँक्रीले सांसद त्रिपाठी नेकपामा प्रवेश गरेको जानकारी दिएकाले उज्यालो रेडियो र उज्यालो अनलाइनमा उहाँ नेकपामा प्रवेश गरेको खबर प्रकाशन तथा प्रसारण भएको थियो ।

(यसअघि उज्यालो अनलाइन र उज्यालो रेडियोमा त्रिपाठी नेकपामा प्रवेश गरेको भन्ने खबर प्रसारण तथा प्रकाशन भएकोमा क्षमाप्रार्थी छौं – सम्पादक)

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया