एक डोज मात्रै लगाए पुग्ने जोन्सनकाे खोप सुरक्षित र प्रभावकारी

 फागुन १३, २०७७ बिहिबार ८:५६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकाय यूएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले जनाएको छ ।

एफडीएले जोन्सन एण्ड जोन्सनको खोपको प्रयोगका लागि केही दिनमै स्वीकृति दिने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाउने छन् । यो खोपले अनुमति पाए सस्तो र सजिलो खोपका लागि सजिलो विकल्प हुने खबरमा उल्लेख छ ।

यो खोप रेफ्रिजेरेटरमा पनि राख्न सकिने भएकाले भण्डारणमा सहज हुने भनिएको हो । यस्तै, यो खोपको मात्रा एक डोज दिएमात्रै पनि पुग्ने छ । अहिले प्रयोगमा आएको मोर्डना र फाइजरको खोपको मात्रा दुई डोज दिने गरिएको छ । जाेन्सन एण्ड जाेन्सनले गएको महिना आफ्नो  परीक्षणको नतिजा सार्वजनिक गरेको थियो ।

यसको परीक्षण अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको थियो । परीक्षणमा गम्भीर बिरामी हुनबाट रोक्न यो खोपको ८५  प्रतिशत प्रभावकारिता पाइएको थियो भने समग्रमा खोपको प्रभावकारिता ६६ प्रतिशत देखिएको थियो ।

भोलि विशेषज्ञ टोलीले यो खोपलाई मान्यता दिने नदिनेबारे निर्णय गर्ने बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया