प्रचण्डसँग वामदेवको प्रस्ताव - ओलीलाई सम्मानजनक ढङ्गबाट हटाएर नेकपाबाटै नयाँ प्रधानमन्त्री बनाऔँ

 फागुन १३, २०७७ बिहिबार ११:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढङ्गबाट हटाउन प्रस्ताव गर्नुभएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएका उपाध्यक्ष गौतमले अध्यक्ष प्रचण्डसँग ओलीलाई सम्मानजनक ढङ्गबाट हटाएर नयाँ प्रधानमन्त्री नेकपाभित्रबाटै चयन गर्नुपर्ने प्रस्ताव गर्नुभएको हो ।

अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच प्रचण्ड निवास खुमलटारमा झण्डै एक घण्टा कुराकानी भएको थियो । अपमान महशुस नहुने गरी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सकियो भने मात्रै नेकपा एकताबद्ध भएर अघि बढ्न सक्ने उपाध्यक्ष गौतमले बताउनुभएको र त्यसमा अध्यक्ष प्रचण्ड पनि सकारात्मक देखिनुभएको गौतमको सचिवालयले जनाएको छ ।

जवाफमा प्रचण्डले आफू जहिले पनि पार्टी एकताकै पक्षमा रहेको र पार्टी विभाजित पनि नरहेको तर अहिलेकै अवस्थामा केपी शर्मा ओलीसँग सहकार्य हुन नसक्ने प्रतिक्रिया दिनुभएको थियो । प्रतिनिधिसभा विघटनको घोषणा भएको पुस ५ गतेदेखि नेकपा दुई समूहमा विभाजित भए पनि उपाध्यक्ष गौतम कुनै पनि समूहमा देखिनुभएको थिएन । कुनै पनि समूहमा नलागेर उहाँले नेकपा एकता अभियान नै घोषणा गर्नुभएको थियो ।

यसअघि उपाध्यक्ष गौतमले विज्ञप्ति निकालेर तत्काल सचिवालय बैठक बोलाउन पार्टीका दुवै अध्यक्षसँग आग्रह गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया