लुकेको गाउँको कथा : अण्डा कुहिँदा आयो २०७२ सालको भूकम्प

पस्लाङ अर्थात लुकेको गाउँ : जहाँ छन् दुई अनौठा चलन

 भदौ ३, २०७५ आइतवार १५:१३:३९ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखा सदरमुकामको मुख्य बजारबाट आधा घण्टाको पैदल दूरीमा छ, पस्लाङ गाउँ ।

३० भन्दा बढी घरधुरीको यो झुरुप्प बस्तीमा मगर समुदायको मात्रै बसोबास छ । मगर भाषामा पस भनेको लुकेको र लाङ भनेको गाउँ हो । ‘नाम अनुसारकै छ हाम्रो गाउँ’, स्थानीय अगुवा मानबहादुर रानामगर भन्नुहुन्छ, ‘लुकेको गाउँका लुकेका कुरा संसारभर चिनाउन चाहन्छौं ।’

गोरखा भूकम्पले गाउँका पूरै घर भत्किए । भूकम्पको डेढ वर्षअघि अर्थात २०७० सालको असारतिरबाट सुरु भएको होमस्टे सेवा बन्द भयो । अहिले गाउँलेहरु धमाधम नयाँ घर बनाइरहेका छन् ।

र, जति घर बनिसके, त्यसमा होमस्टे सेवा सुरु भैसकेको छ । नेपाल सरकारको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम अन्तर्गत पस्लाङमा होमस्टे सेवा सुरु गरिएको थियो । तर भूकम्पका कारण सबैजसो घर भत्किएपछि सेवा बन्द भएको थियो ।

अहिले १२ वटा घर निर्माण पूरा भएको  र त्यसैबाट होमस्टे सुरु गरिएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका रानामगरले बताउनुभयो । एक गाउँ एक उत्पादन कार्यक्रम बन्द भए पनि सो कार्यक्रम कार्यान्वयन गर्दै आएको गोरखा उद्योग वाणिज्य संघले होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराएको थियो ।

भूकम्पअघि १६ वटा घरमा मात्रै होमस्टे सेवा रहेकोमा अब भने सबै घरमा पाहुना राख्नेबारे छलफल भैरहेको अध्यक्ष रानामगरको भनाई छ । पस्लाङ गोरखा सदरमुकामबाट झण्डै आधा घण्टाको पैदल दूरीमा रहेको छ । त्यहाँ मगर समुदायको मात्रै बसोबास रहेको छ । नयाँ व्यवस्थापनका साथ सुरु भएको होमस्टेमा मगर संस्कृति प्रदर्शनी, स्थानीय खानाको परिकारलगायत सेवालाई निरन्तरता दिइएको उहाँको भनाई छ ।

‘पाहुनाले आफ्नै हातले बारीको तरकारी टिपेर आफैं पकाउन पाउनुहुन्छ’, रानामगर भन्नुहुन्छ, ‘आफ्नै हातले पकाएको तरकारी र लोकल ढिलो र कुखुराको मासु खुवाउने व्यवस्था छ ।’ साँझ मगर भेषभूषा र नाचगानसहित स्वागत गरिएका पाहुनालाई सकेसम्म स्थानीय परिकार खुवाउने प्रयत्न गरिन्छ । साँझ मारुनी र सोरठीको मज्जा लिएर सुतेका पाहुनालाई बिहान खाजा खुवाएर मगर संस्कृति अनुसारकै सेतो टिका र माला लगाएर बिदा गर्ने चलन छ ।

एक रातको प्याकेजको ६ सय रुपैयाँ लिने गरिन्छ । लामै समय बस्न जाने पाहुनाले भने हरेक दिनजसो मारुनी र सोरठीमा झुम्ने मौका पाउँछन् । पस्लाङमा होमस्टे सेवा त छँदैछ, दुईवटा यस्ता परम्परागत मान्यता छन्, जसले बास बस्न गएका पाहुनालाई थप रोमाञ्चित पनि बनाउन सक्छ ।

अण्डाबाट हेरिन्छ वार्षिक भविष्यफल

पस्लाङ गाउँको आडैमा नामरुङ देवीको मन्दिर छ । पूर्वाधारको हिसाबले मन्दिर अझै व्यवस्थित बन्न बाँकी छ । तर नामरुङ देवीप्रतिको स्थानीयको आस्था र भरोसा भने यति बलियो छ कि, सयौं वर्ष बित्यो, दर्जनौं पुस्ता सकिए तर नामरुङ माइप्रतिको उनीहरुको आस्था जीवन्त छ ।

यति बलियो आस्था नहुँदो हो त, उनीहरु एकजोर अण्डाको भरमा एक वर्षभरिको भविष्य हेरिरहने थिएनन् । नामरुङ थानमा हरेक वर्षको चण्डी पूर्णिमामा मेला लाग्छ । मेलामा हरेक घरबाट स्थानीय जातको कुखुराको फुल ल्याएर चढाइन्छ । चढाइएका सयौं अण्डामध्ये ठूलो, राम्रो र सग्लो अण्डा झण्डै एक हात गहिरो खाडलमा गाडिन्छ ।

‘अर्को वर्षको चण्डी पूर्णिमाका दिन वर्षदिन अघि गाडिएका दुवै अण्डा पूजारीले झिक्छन् र फुटाउँछन्’, पूजारी खलककै मानबहादुर भन्नुहुन्छ, ‘अण्डा कुहिएको रहेछ भने आउँदो वर्षको मौसम राम्रो नहुने ठहर गरिन्छ, भित्री भाग सग्लै रहेछ भने राम्रो मौसम हुन्छ ।’

अनि एउटा बिग्रिएको र अर्को सग्लो रहेछ भने नि ?, प्रश्न नसकिँदै उहाँले भन्नुभयो, ‘अहिलेसम्म त्यस्तो भएको छैन, बिग्रे दुवै बिग्रन्छ, राम्रो भए दुवै राम्रो ।’ उहाँका अनुसार अण्डामार्फत गरिएको भविष्यवाणी अहिलेसम्म फेल खाएको छैन । २०७२ सालको भूकम्प गएको वर्षको चण्डी पूर्णिमामा अण्डा फुटाउँदा दुवै कुहिएको स्थानीय बासिन्दा बताउँछन् ।

‘एउटा विश्वास त हो, त्यही वर्ष अण्डा बिग्रनु, त्यही वर्ष भूकम्प जानु’, अर्का स्थानीयबासिन्दा खिलबहादुर राना भन्नुहुन्छ । अण्डा चढाउन र अघिल्लो वर्ष गाडिएको अण्डाबाट गरिने भविष्यवाणी हेर्न र सुन्न सयौं भक्तजन चण्डी पूर्णिमाका दिन नामरुङ मन्दिर पुग्ने गरेका छन् ।

दाम्लो चढाइने मन्दिर

सामान्यतया मन्दिरमा हामी अबीर अक्षताले पूजा गर्छौं र फूल, प्रसाद चढाउँछौं । तर यही नामरुङ मन्दिरमा पुग्ने भक्तजनहरु भने अरु पूजाविधिसँगै दाम्लो पनि चढाउँछन् ।

दाम्लो अर्थात पशु चौपायालाई किलोमा बाँध्ने बन्धन । परापूर्वकालदेखि चल्दै आएको चलन हिजोआज पनि कायमै छ । घरमा पालिएको पशु चौपायालाई कुनै रोग नलागोस् र पशुधनबाट फलिफाप होस् भन्नका लागि दाम्लो चढाउने गरिएको स्थानीय बासिन्दा बताउँछन् ।

पशु चौपायालाई रोगब्याधी लागेमा पनि यो मन्दिरलाई सम्झने वा पशुका दाम्ला चढाउने गरेमा घरको गोठ भरिभराउ हुने कुरामा स्थानीयहरू विश्वस्त छन् । ‘दाम्लो चढाएर भाकल गरेमा पशु चौपायाबाट कुनै हानी नोक्सानी नहुने विश्वास छ’, मानबहादुर भन्नुहुन्छ, ‘पशु चौपाया राम्रोसँग ब्याएमा पहिलो ताजा बिगौती दूध मन्दिरमा ल्याएर चढाउने चलन छ ।’ वषौंदेखि चलिआएको यो चलनलाई नयाँ पुस्ताका पशुपालकहरुले पनि पछ्याउँदै आएका छन् ।

मगर संस्कृतिसँगै प्राकृतिक दृश्यावलोकन र शाहकालीन ऐतिहासिक पक्षबारे जानकारी लिनका लागि यो ठाउँ केन्द्रमा छ । गोरखा बजारबाट आधा घण्टाको पैदल दूरीमा रहेको पस्लाङ प्रवेश गर्ने बाटैमा द्रब्यशाह चौतारा छ । गोरखा राज्य जितेपछि द्रब्य शाहले राज्यभिषेक गरिएको चौतारोसँगै अहिले उनको शालिक पनि राखिएको छ । यहाँबाट ऐतिहासिक गोरखा दरबार पुग्न पनि झण्डै ४५ मिनेटको पैदलयात्रा गर्नुपर्छ ।

गाउँबाटै दरौंदी नदी आसपासको सुन्दरफाँटका साथै मनासलु, बौद्धलगायत हिमश्रृङ्खलाको पनि अवलोकन गर्न सकिन्छ । भूकम्पपछि तंग्रिदै गरेको पस्लाङ गाउँ तपाईँको पनि पर्खाइमा छ । 

अन्तिम अपडेट: असोज ३, २०७५

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । उहाँलाई  फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया