नौ वर्षमा केरुङ–काठमाडौँ रेलमार्ग बन्ने

 भदौ ३, २०७५ आइतबार १६:१८:४२ | रासस
unn.prixa.net

काठमाडौं – सरकारले वार्षिक २८ अर्ब ५५ करोड रुपैयाँ लगानी गरे आउँदो नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ । 

रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार केरुङ–काठमाडौं रेलमार्गको कूल लागत दुई खर्ब ५७ अर्ब रुपैयाँ हुने देखिएको छ ।
सोही आधारमा वार्षिक २८ अर्ब ५५ करोड रुपैयाँ लगानी गर्नुपर्ने देखिएको हो । चिनियाँ कम्पनीले तयार पारेको प्रारम्भीक अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिन नेपाली र चिनियाँ अधिकारी छलफलमा जुटेका बेला विभागबाट यस्तो जानकारी प्राप्त भएको हो । 

शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा रसुवागढीदेखि काठमाडौँसम्मको दूरी ७२।२५ किमी छ ।

प्रतिकिमी तीन खर्ब ५५ करोड रुपैयाँ लागत रहने विभागले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको असार ५ देखि १० गतेसम्म गर्नुभएको चीन भ्रमणका क्रममा रेलमार्ग निर्माणका विषयमा राष्ट्रपति सिजिन फिङ र प्रधानमन्त्री लि खछ्याङसँग महत्वपूर्ण छलफल एवं सहमति भएको थियो ।

९८ प्रतिशत पुल र सुरुङ

विभागका सिनियर डिभजनल इन्जिनीयर उपाध्यायका अनुसार काठमाडौं–केरुङ रेलमार्गमा ९८।५५ प्रतिशत पुल तथा सुरुङमार्ग निर्माण गर्नुपर्ने देखिएको छ ।
कमजोर भूभाग रहेको भन्दै विभिन्न आशङ्का व्यक्त भइरहेको बेला चिनियाँ प्राविधिक टोलीले गरेको अध्ययनअनुसार रेलमार्ग निर्माण गर्न उपयुक्त र सम्भाव्य देखिएको छ ।

नेपाल सरकार आफैँले पनि रेलमार्ग निर्माण गर्न सक्ने अध्ययनबाट देखिएको छ । नेपाली र चिनियाँ अधिकारीले प्रारम्भीक अध्ययन प्रतिवेदनलाई स्वीकृत गरेपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सुरु हुनेछ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया