एसियाली खेलकुद: नेपाल ब्याडमिन्टनकाे पुरुष टिम इभेन्टसतर्फ क्वार्टरफाइनलमा

 भदौ ३, २०७५ आइतबार १६:२०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनमा नेपाल पुरुष टिम इभेन्टसतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । नेपालका तर्फबाट दिपेश धामी, विकाश श्रेष्ठ, रत्नजीत तामाङ र नविन श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

पाकिस्तानबाट इरफान साइद, अजिम सरवार, रिजवान अजम, कासिफ अली सहभागी थिए । एकलतर्फ रत्नजीत र विकासले जित हात पारेका थिए ।
नेपालले अब क्वार्टरफाइनलमा सोमबार चाइनिज ताइपेइसँग खेल्नेछ । यदी सोमबारको खेल जिते नेपालले कम्तिमा कास्य पदक पक्का गर्नेछ ।

महिलातर्फ भने नेपाल पराजित भएको छ । नेपाल माल्दिभ्ससँग पाँच सेटमा स्तब्ध भयो । नेपालको टिममा नङसल तामाङ, जेसिका गुरुङ, रसिला महर्जन र अमिता गिरि रहेका थिए ।

आइतबार नै भएको तेक्वान्दोको पुम्सेमा नेपालको पदक सम्भावना समाप्त भएको छ । पुम्सेमा एकलतर्फ दुई र टिम इभेन्टसमा गरी तीन विधामा नेपालले भाग लिएको थियो ।
 
एकलतर्फ कमल श्रेष्ठ र पार्वती गुरुङ दुवै जना चाइनिज ताइपेइसँग पराजित भएका थिए । 

टिम इभेन्टसमा नेपालले उज्वेकिस्तानसँग बाइ पाएपछि क्वार्टरफाइनलमा स्थान बनाएको थियो । तर क्वार्टरफाइनलमा चाइनिज ताइपेइको चुनौती नेपालले पन्छाउन सकेन ।

टिम इभेन्टसमा सिना लिम्बु, निता गुरुङ र पार्वती गुरुङ सहभागी थिए । पुम्सेमा नेपालले टिम इभेन्टसमा महिलातर्फ मात्र भाग लिएको थियो ।

सोमबार तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ५३ केजी मुनि गुरुङ, ५८ केजी मुनि सागर गुबाजु र ६७ केजी मुनि संगिता बस्याल रिङमा उत्रनेछन् । निमा र संगिताले दुई खेलाडीलाई पराजित गरे अन्तिम आठमा स्थान बनाउनेछन् ।

सागरले भने क्वार्टरफाइनल प्रवेशका लागि तीन खेलाडीलाई हराउनु पर्नेछ । सागरले भुटानका तेन्जिङ दोर्जी, निमाले लेवलोन र संगिताले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया