हजयात्रा सुरु : बीस लाख हजयात्री मक्कामा

 भदौ ३, २०७५ आइतबार १६:३९:४० | रासस
unn.prixa.net

विश्वभरका बीसलाखभन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् ।

विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम धर्माबलम्बीहरुको पाँच प्रमुख धार्मिक कार्यक्रममध्ये एक मानिने मक्काको हजयात्रा ६ दिनसम्म गर्ने परम्परा रहेको छ ।

‘हजयात्राका लागि मक्कामा आउनु हरेक मुस्लिम धर्माबलम्बीको सपना हो’, फ्रान्सेली हजयात्री सोलिमान बेन मोहरीले भन्नुभयो । 

‘यो एउटा सर्वश्रेष्ठ र अन्तिम यात्रा हो, र यो मेरो सपना थियो, त्यही क्षण अहिले पाएको छु’, ५३ बर्षीय मोहरीले एएफपीलाई सुनाउनुभयो । 

हरेक मुस्लिम धर्माबलम्बीले जीवनमा एकपटक हजयात्रा गर्नुपर्ने धार्मिक विश्वास रहिआएको छ । हजयात्रा स्थलमा दशौँ हजार सुरक्षाकर्मी हजयात्रालाई सुरक्षित र व्यवस्थित तुल्याउन खटिएका छन् ।

हजयात्राका क्रममा भागदौडमा परी तीन वर्ष पहिले २ हजार ३ सय हजयात्रीको ज्यान गएको थियो । 

हजयात्रालाई सुरक्षित र व्यवस्थित गराउन साउदी अरबले यस पटक ‘स्मार्ट हज’ एप बनाएर त्यस मार्फत सूचना तथा जानकारीहरु दिने प्रबन्ध मिलाएको छ ।

त्यस एपमा यात्रा योजनादेखि उपचारमा ध्यान दिनुपर्ने कुराहरु राखिएका छन् । 

साउदी अरबका गृहमन्त्रीले शनिबार मात्रै २० लाखभन्दा बढी हजयात्री मक्कामा आइपुगेको जानकारी दिनुभयो । हज गर्न इजिप्ट, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशबाट ठूलो संख्यामा मुस्लिम धर्माबलम्वीहरु यहाँ भेला भएको गृहमन्त्रीले बताएका छन् । 

यात्रामा रहेका अधिकांशले आइतबार मक्काबाट हजयात्रा सुरु गरी राति मीना उपत्यकामा बास बस्नेछन् । त्यहाँ आगलागीबाट जोगाउन मद्दत गर्ने टेन्टहरुमा उनीहरु रहने अधिकारीहरुको भनाई छ । 

मक्काबाट मीनासम्मको आठ किलोमिटर सडकमा हजयात्रीलाई ओसार्न हजारौं बस र अरु सवारी साधन लामबद्ध हुन्छन् । धेरै हजयात्री यो सडकमा टन्टलापुर घामको पर्वाह नगरी पैदलै हिँड्ने गर्दछन् । 

सोमबार, हजको मुख्य स्थान मीनाको माउन्ट अराफातमा उक्लिनेछन् र त्यहाँ पवित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्दछन् । इस्लाम अनुसार, त्यसपछि उनीहरु अराफात र मीनाको बीचतिर रहेको मुज्दालिफातर्फ लाग्छन् र त्यहाँ कम्तीमा मध्यरातसम्म बस्छन् । 

उनीहरुले इद अल–अधा पर्वको पूर्वसन्ध्यामा त्यहाँ शैतानमाथि साङ्केतिक रुपमा ढुङ्गा बर्साउँछन् । त्यसपछि हजयात्रा समाप्त हुन्छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया