लाइसेन्स वितरणमा अझै दुई-चार दिन लाग्छः राज्यमन्त्री झा

 भदौ ३, २०७५ आइतबार १७:२३:४६ | केसी लामिछाने
unn.prixa.net

पर्सा – प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झाले दुई–चार दिनमै वीरगञ्जबाट सवारी चालक अनुमतिपत्र बितरण गरिने बताउनु भएको छ । 


वीरगञ्जको होटल बाटीका इन्टरनेशनलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाले प्रदेश २ का नागरिकहरुका लागि वीरगञ्जबाट छिट्टै सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको प्रक्रिया सुरु हुने बताउनुभएको हो ।

गएको साउन १ गते कार्यालयहरु प्रदेश सरकारको मातहतमा आएपछि सवारी चालक अनुमति पत्र वितरणमा प्रदेश नं २ को सरकारले प्रदेशभित्र रोक लगाएको थियो । प्रदेश २ मा लाहान, जनकपुर र वीरगञ्जबाट यातायात व्यवस्था कार्यालयहरुले सवारी चालक अनुमति पत्र वितरण गर्दै आइरहेका थिए ।
 
देशका अन्य प्रदेशमा रहेका कार्यालयहरु प्रदेश सरकारको मातहतमा गए पनि ती प्रदेशहरुले भने सवारी चालक अनुमती पत्र वितरणको काम रोकेका छैनन् ।
 
प्रदेश सरकारले प्राविधिक कामहरु पूरा नगरी हचुवाको भरमा सवारी चालक इजाजतपत्र दिने काम रोकेर नागरिकको आधारभूत अधिकारको विरुद्धमा गएको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको बेला राज्मंत्री झाले प्राविधिक कामहरु बाँकी भएकोले वीरगञ्जमा रहेको यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स वितरणको काम रोकिएको जानकारी दिनुभयो । 

‘पछिल्लो समयमा स्मार्ट लाइसेन्स वितरण भइरहेको छ, कार्ड छाप्ने मेशिन नेपालमा जम्मा दुईवटा मात्रै रहेछ, अर्कोतर्फ अनलाइनमार्फत भरिने फर्मको सम्पूर्ण विवरण नीजि कम्पनीकोमा जाँदोरहेछ,’ राज्यमन्त्री झाले भन्नुभयो ‘नागरिकको व्यक्तिगत विवरण कार्यालयको मातहतमा ल्याउने र मेशिन ल्याएर व्यवस्थित ढंगले काम सुरु गर्ने तयारी भइरहेको छ । त्यसका लागि दुईचार दिन समय अझै लाग्न सक्छ ।’
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया