पहिरोले तीन घर बगायो, १७ घरपरिवार विस्थापित

 भदौ ३, २०७५ आइतबार १९:१२:३ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – कुमाख गाउँपालिका वडा नम्बर–५, त्वालध्वारीमा पहिरो जाँदा यहाँका १७ घरपरिवार विस्थापित भएका छन् ।

केही दिन अघिदेखि लगातार परेको पानीका कारण शनिबार दिउँसो पहिरो जाँदा तीन घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । लगातारको वर्षापछि पहिरो जाँदा स्थानीय राजकुमार पुनको ६ कोठे घर, कलौटे पुनको दुई कोठे र लोकबहादुर सुनारको घर पूर्ण रुपमा क्षति भएको सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले बताउनुभयो  ।

यस्तै ६ घरधुरी पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । स्थानीय लोकेन्द्र वली, चन्द्रबहादुर बुढा, दले सार्की, गोरख बुढा, टेक बुढा र काशीराम बुढाथोकीको घर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । यस्तै सोही ठाँउको ८ घरधुरी पनि पहिरोको जोखिममा रहेको डीएसपि शाहीले जानकारी दिनुभयो ।

घर माथिबाट आएको पहिरोले १७ घरपरिवार विस्तापित भएको र विस्थापित घरपरिवारहरु अहिले त्यसै ठाउँको नजिकै रहेको मिलमा आश्रय लिएर बस्न बाध्य भएका छन् । घरमा बस्न नमिल्ने भएपछि सुरक्षाका लागि मिलमा बास बस्नु परेको स्थानीय दले सार्कीले बताउनुभयो ।

प्रहरीका अनुसार पहिरोका कारण झण्डै एक सयजना नागरिक प्रभावित भएका छन् । घर माथिबाट आएको पहिरोले तीनवटा घर पूर्ण रुपमा क्षति भए पनि दिउँसोको समय भएकाले केही पशुचौपाय मरेको र मानवीय क्षति भने नभएको बताइएको छ ।

यस्तै कुमाख गाउँपालिका वडा नम्बर–३, जोगनीमा रहेको बाल जागृत आधारभूत विद्यालयको तीनकोठे शौचालय पनि पहिरोका कारण पूर्ण रुपमा क्षति भएको छ । प्रहरीका अनुसार अन्नपात, नगद र जिन्सी समान गरी झण्डै  १५ लाख बराबरको क्षति भएको छ ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया