फागुनदेखि त्रिभुवन विमानस्थल दैनिक १० घन्टा बन्द हुने, धावनमार्गमा नयाँ पीच हालिने

 भदौ ३, २०७५ आइतबार १९:२८:२४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पुरानो पीच उप्काएर नयाँ पीच हाल्न फागुनदेखि विमानस्थल दैनिक १० घन्टा बन्द गरिने भएको छ ।

फेब्रुवरी २८ देखि ४ महिना राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलको धावनमार्ग बन्द गरेर नयाँ पीच हाल्ने नेपाल नागरिक उड्ययन प्राधिकरणका महाप्रबन्धक सञ्जिव गौतमले जानकारी दिनुभयो ।

‘हामीले फेब्रुअरी २८ देखि ४ महिना विमानस्थल राति १० देखि बिहान ८ बजेसम्म बन्द गरेर पीचको रिह्याव गर्ने तयारी गरेका छौं’, महाप्रवन्धक गौतमले भन्नुभयो, ‘हामीले जिरो टू तर्फबाट हरेक दिन ८० मिटर पीच राति उप्काएर फाल्ने र नयाँ हाल्नेछौं, अर्को दिन बिहान ८ बजे उडान सुरु हुने गरी  राती नै पुरानो पीचको ठाउँमा नयाँ पीच हालिनेछ ।’

जिरो टु अर्थात दक्षिणतर्फको भागको १६ सय मिटर पिच अत्यन्तै कमजोर भैसकेकोले जिरो टू भागतर्फबाट पीच गरिने उहाँले जानकारी दिनुभयो । यसको लागि ४ वटा कम्पनीसँग प्राविधिक सम्झौता भएको छ, यी ४ मध्येबाट एउटा कम्पनीसँग सम्झौताका तयारी छ । 
अहिले ३० सेन्टिमिटर गहिराइसम्मको पीच हटाएर नयाँ पिच हाल्ने प्राधिकरणको योजना छ । काम सुरु भएपछि ४ महिनाभित्रै पीच फेर्ने काम सकिने प्राधिकरणका महाप्रबन्धक गौतमको भनाई छ । 
थप समस्या आउन नदिन विकल्प 
पिच उप्काउने र नयाँ भर्ने क्रममा कुनै समस्या देखिएमा देशको एक मात्र अन्तर्राष्ट्रिय  विमानस्थल बन्द हुने खतरा रहेको छ । तर विमानस्थल बन्द हुन नदिन विभिन्न विकल्पहरु तयारी अवस्थामा राखिने महाप्रवन्धक गौतमले जानकारी दिनुभयो  ।

‘हामीसँग ३ वटा मेलिङ मेसिन अर्थात पिच उप्काउने मेसिन र ३ वटा पेवरहरु रहनेछन, २÷२ वटा मेसिनले काम गर्नेछन भने एकएक वटा अतिरिक्त मेसिन राख्नेछौं, त्यति गर्दा पनि समस्या आयो भने हामीले कोल्ड मिक्सको व्यवस्था गरेका छौं, त्यसले पनि हामी बिहान ८ बजेसम्म धावनमार्ग तयार गर्नेछौं’ नागरिक उड्यन प्राधिकरणका महाप्रबन्धक गौतमले भन्नुभयो ।

‘दायाँबायाँ जान्दिन, यो आर्थिक वर्षमा नयाँ पीच हाल्नैपर्छ’

संस्कृति पर्यटन तथा नागरिक उडययनमन्त्री रबीन्द्र अधिकारीले जुनसुकै हालतमा पनि यो आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा नयाँ पीच हाल्नुपर्ने बताउनुभएको छ । पिच फेर्ने कुरा लामो समयदेखि चल्दै आए पनि अहिलेसम्म कुरामा मात्रै सीमित भएकोमा आपत्ति जनाउँदै मन्त्री अधिकारीले यो वर्ष पनि धावनमार्गमा नयाँ पिच नहाले कारबाही गर्ने समेत चेतावनी दिनुभयो ।

‘यो आर्थिक बर्षमा जसरी पनि धावनमार्गमा नयाँ पिच हुनुपर्छ म दाँयाबाँया जान्दिन, त्यसको लागि मैले के सहयोग गर्नुपर्छ भन्नुहोस, गर्न तयार छु, तर कुनै पनि बहानामा काम रोक्न पाइन्न, दैनिक १० घन्टा विमानस्थल बन्द गरेर भएपनि काम गर्नैपर्छ’ मन्त्री अधिकारीले भन्नुभयो ।

१० बर्षमा फेर्नुपर्ने पीच ५० वर्षमा पनि फेरिएन

खासगरी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक १०/१२ बर्षमा पिच फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर नेपालमा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापना भएयता एकपटक पनि पुरै पिच फेरिएको छैन । समस्या आउँदा टालटुल मात्रै गर्ने गरिएको छ । सन् १९५१ देखि विमानस्थल सञ्चालनमा आएपनि त्यसपछि विमानस्थलको धावनमार्ग सामान्य मर्मत मात्रै गरिँदै आएको छ ।

विमानस्थलमा अहिले दैनिक एकसय भन्दा धेरै अन्तर्राष्ट्रिय सहित दैनिक सरदर ४ सय उडान हुन्छन । अहिले २१ घन्टा चल्दै आएको विमानस्थललाई १४ घन्टा मात्रै चलाउँदा भद्रगोलको डर पनि उत्तिकै छ ।

तर आउने माघदेखि जेठ÷असारसम्म जसरी पनि व्यवस्थापन गर्ने त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री बताउनुहुन्छ । ‘विश्वका जुनसुकै देशमा पनि राती विमानस्थल गरेर पिच हाल्ने गरिएको छ, हामीले पनि गर्ने त्यही हो, हामीले सकभर विमानस्थलमा भद्रगोल नहुने गरी व्यवस्थापन गर्नेछौं’ महाप्रवन्धक क्षेत्रीले भन्नुभयो ।

पहिलो चरणमा धावनमार्गमा मात्रै नयाँ पिच हाल्ने र त्यो काम सकिएपछि ट्याक्सी वे मा पनि नयाँ पिच हाल्ने नागरिक उड्ययन प्राधिकरणको योजना रहेको छ । विमानस्थलमा नयाँ पिच हाल्नको लागि ३ अर्ब ५ करोड रुपैयाँ भन्दा धेरै खर्च लाग्ने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • झल ब, थापा

    Aug. 19, 2018, 11:32 p.m.

    माननीय ज्यु हरु अन्तर्राष्ट्रिय बिमानस्थललाई दैनिक दस घन्टा बन्द गर्नुभन्दा छिटो सन्चालनमा आउने भनिएको भैरहवा बिमानस्थललाई दुर्तगतिमा काम सकाएर भैरहवा सन्चालन गराएर काठमाडौं बिमानस्थललाई जे जति कमि कमजोरी छ त्यसलाई सुधार र अन्तर्राष्ट्रिय स्थरको विमान स्थल बनाउन अनुरोध छ

  •  0 Reply

तपाईको प्रतिक्रिया