कोरियन भाषा परीक्षामा पास भएकाको स्वास्थ्य परीक्षण आजदेखि

 भदौ ४, २०७५ सोमबार ८:५७:१६ | उज्यालो सहकर्मी

काठमाडौं– कोरिया भाषा परीक्षामा पास हुनेको स्वास्थ्य परीक्षण सोमबारदेखि हुँदैछ । काठमाडौंका चार अस्पतालबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाले जनाएको छ । 

पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने तयारी पूरा भएको छ ।

सन् २०१९ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जान लिइएको कोरियाली भाषा परीक्षामा उतीर्ण हुनेहरुको स्वास्थ्य परीक्षण हुन लागेको हो । 

ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार यी अस्पतालबाट हरेक दिन एक हजार जनाको दरले स्वास्थ्य परीक्षण हुनेछ ।

स्वास्थ्य परीक्षणमा सफल भएका र प्रहरी रिपोर्ट आएकाले भदौ ८ गतेदेखि रोजगार आवेदन फारम भर्न पाउने छन् । आवेदनका लागि पाँच डलर अर्थात ५५० रुपैयाँ एनआईसी एसिया बैंकमा जम्मा गर्नुपर्छ ।

सन् २०१९ मा ईपीएसमार्फत दक्षिण कोरिया जान सात हजार ९ सय ९६ जना भाषा परीक्षा उतीर्ण भएका छन् । यसैबीच दक्षिण कोरियाका लागि सन् २०१८ को कम्प्युटरमा आधारित प्रणाली (सीबीटी) को दोस्रो परीक्षा भदौ ८ गतदेखि सञ्चालन हुने भएको छ । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया