घरेलु मैदानमा ब्राइटनकाे नमूना प्रदर्शन, हार्‍याे म्यानचेस्टर युनाइटेड

 भदौ ४, २०७५ सोमबार ९:१८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ ।

घरेलु दर्शकमाझ ब्राइटनले उत्कृष्ट खेलको नमूना प्रस्तुत गरेको थियो । ब्राइटनको शानदार प्रदर्शनसामू युनाइटेड ३–२ गोलले निराश बन्यो ।

ब्राइटनले स्टार खेलाडीले भरिएको युनाइटेडबिरुद्ध पहिलो हाफमै तीन गोल गरेको थियो । २७ औं मिनेटमा ग्लेन मुर्रेले घरेलु दर्शकलाई खुसी तुल्याउँदै गोल गरेको दुई मिनेटपछि नै सेन डफ्फीले अर्को गोल थपे ।


३४औं मिनेटमा रोमेलु लुकाकुले गोल गरी गोल अन्तर २–१ मा झारे । यद्यपी ४४औं मिनेटमा ब्राइटनले पेनाल्टी पायो । जसलाई पास्कल ग्रसले सहजै गोलमा परिणत गरे ।

पहिलो हाफमा ३–१ को अग्रता बनाएको ब्राइटनले दोस्रो हाफको अन्त्यसम्म युनाइटेडलाई गोल गर्ने अवसर दिएन । तर, अन्तिम मिनेटमा युनाइटेडले पाएको पेनाल्टी अवसरमा पाउल पोग्वाले गोल गरी गोलअन्तर छोट्याए पनि हार टार्न सकेनन् ।

युनाइटेडले गएको सिजनमा पनि ब्राइटनसँग पराजय ब्यहोरेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया