फ्याक्ट र सेजनबीच स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसिप सम्झौता

 भदौ ४, २०७५ सोमबार १६:३०:२ | उज्यालो सहकर्मी

काठमाडौं  - नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीबीच स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसिप सम्झौता भएको छ । 

आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवर्द्धन गर्न  सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौता गरिएको हो ।

सेजनका पूर्व उपाध्यक्ष समेत रहनु भएका स्वर्गीय सञ्जय न्यौपानेको सम्झनामा स्थापना भएको फेलोसिप सम्झाैतामा सोमबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रवन्धक मनिष झा ले हस्ताक्षर गर्नु भयो ।

फेलोसिपका लागि सुरुवातमा कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउने छ भने प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गरिने उल्लेख गरिएको छ । कम्पनीका महाप्रवन्धक मनिष झाले पत्रकार न्यौपानेले अनुसन्धानमा देखाउने चासोलाइ कदर गर्दै फेलोसिप दिन थालिएको बताउनुभयो ।  तथ्यमा आधारित पत्रकारितालाई प्रवर्द्धन गर्न लागि हरेक वर्ष सेजन सदस्यमध्ये एक जनलाई फेलोसिप दिइने झाले बताउनुभयो ।

यो फेलोसिप हरेक वर्ष सेजन स्थापना दिवसको अवसर पारेर वितरण गरिनेछ । फेलोसिपका लागि सेजनका पूर्व अध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजनका अध्यक्ष अथवा कार्य समितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी एक मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया