नेविसंघका नेता ‘कुट्ने’ पूर्व सांसद आफै अस्पताल भर्ना !

 भदौ ४, २०७५ सोमबार १९:३८:५२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेविसंघका नेता चन्द्रप्रकाश देवकोटालाई कुटेका आरोप लागेका पूर्व सांसद मैकुलाल बाल्मिकी आफै उपचारका लागि भेरी अञ्चल अस्पताल पुग्नुभएको छ ।

आफू निकट कांग्रेसका नेतासहित बाल्मीकी सोमबार साँझ उपचारका लागि अस्पताल पुग्नुभएको हो । नेविसंघका महेन्द्र बहुमुखी क्याम्पस इकाईका कार्यबाहक सभापति देवकोटालाई पूर्व सांसद बाल्मीकी सञ्चालक रहेको नेपालगञ्ज हेल्थ कलेजमा कुटिएका थिए ।

विद्यार्थी संगठनले राखेका मागबारे क्याम्पसमा वार्ताका लागि बोलाएर विद्यार्थी नेतालाई कुटपिट गरेको आरोप पूर्व सांसद बाल्मिकीलाई लगाइएको छ । क्याम्पस सञ्चालक समेत रहेका संविधानसभाका सदस्य बाल्मिकीले भने आफूले कसैलाई कुटपिट नगरेको बताउनुभएको छ । उहाँले त्यो नेपाली कांग्रेसको गुटगत विवाद भएको दाबी गर्नुभयो ।  

‘उहाँहरु कोइराला पक्षको’, बाल्मिकीले भन्नुभयो, ‘म देउवा पक्षको, सामान्य विवाद भएको हो, अस्पताल भर्ना भएर नाटक गरेका छन् ।’

उहाँले आफू सुगरको बिरामी भएको र रगत आउन नरोकिएको समेत बताउनुभयो । मुटु सम्बन्धी समस्या देखिएको भन्दै साँझ उहाँ अस्पताल पुग्नुभएको हो ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४, का राजेन्द्र बडुवालले २०७३ असोजमा नेपालगञ्ज हेल्थ कलेजमा ल्याब असिस्टेन्टमा भर्ना भइ एकवर्ष अध्ययन गरेपछि  वार्षिक परीक्षाबाट बञ्चित गरिएको भन्दै नेपाल विद्यार्थी संघ सीटीईभीटी केन्द्रीय समन्वय समिति र प्रदेश समितिले गएको साउन ३१ गते क्याम्पसमा तालाबन्दी गरेको थियो ।

विद्यार्थीलाई वार्षिक परीक्षामा सामेल गराउन पटक–पटक  आग्रह गर्दा पनि संचालक बाल्मिकीले विद्यार्थीको फर्म नबुझेको र कुटपिटमा उत्रिएको नेविसंघको दाबी छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया