नेपाल एअरलाइन्स : जहाज १४ वटा, उड्छन जम्मा ६ वटा

 भदौ ५, २०७५ मंगलबार ६:५३:४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं –संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको समिक्षा कार्यक्रममा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले निगमले गरेको प्रगति सुनाउँदै हुनुहुन्थ्यो ।

नयाँ  योजना र जापान तथा कोरियामा निगमका जहाज किन जान सकेनन् भन्ने प्रसंगपछि पर्यटनमन्त्री रवीन्द्र अधिकारीले कंसाकारलाई सोध्नुभयो, ‘साँफे बगरमा परीक्षण उडान गरेपछि जहाज गएकै छैनन्, जहाज सबै बिग्रेका छन् ?’

‘अँ बिग्रेको बिग्रयै छन्, हामी त हैरान भयौँ, हेर्नुस् न’, कंसाकारले जवाफ दिनुभयो । हलभरि हाँसो फैलियो ।

‘साँच्चै भन्नुस् न ठट्टा नगर्नुस’ मन्त्री अधिकारीले फेरि सोध्नुभयो ।

‘हो हजुर बिग्रेका हुन्’, कंसाकारको जवाफ आयो । 

‘ट्वीनेटर ३ वटा चलाउने भनेको किन चलेनन् ?’ मन्त्रीले सोध्नुभयो ।

‘हैन हजुर एउटा ट्वीनेटरको त इन्जिनको के के लफडा छ, अरु दुईवटामा पनि खै के के समस्या आएको छ’ महाप्रबन्धकले जवाफ दिनुभयो ।

‘त्यो एउटाको त सामान्य इन्जिन मर्मत गरेमा पनि चल्छ रे त ?’ मन्त्रीले फेरि प्रश्न गर्नुभयो ।

‘हो हजुर सामान्य मर्मत गरेमा चल्छ’ फेरि महाप्रबन्धकको जवाफ आयो । 

‘त्यो प्राइभेटलाई दियो भने त तत्कालै बनाएर चलाउँछन्, तर हामीले बनाउन नसक्ने है, अरुले बनाएर चलाइहाल्न सक्ने हामीले किन नसकेको ? डोमेस्टिकलाई हेलचेक्र्याईं नगर्नुस है’ मन्त्रीले आदेश दिनुभयो ।

हुन पनि नेपाल वायुसेवा निगमको आन्तरिक उडान साँच्चै समस्यामा छ । आन्तरिक तर्फका ९ वटा जहाजमध्ये जम्मा २ वटा मात्रै चलेका छन् ।

९ वटामध्ये २ वटा मात्रै उड्नछन्, कुन विमान किन चलेनन् ?

नेपाल वायुसेवा निगमसँग आन्तरिक उडानको लागि अहिले ९ वटा विमान रहेका छन् । ३ वटा ट्वीनेटर, ४ वटा वाइ १२ र २ वटा एमए ६० विमान निगमसँग छन् ।

९ वटा विमानमध्ये अहिले जम्मा २ वटा विमानले मात्रै उडान भर्दै आएका छन् । त्यो पनि पाइलट अभावका कारण एउटा उड्दा अर्को नउड्ने भैरहेको छ । निगमले २ वटा विमान उडिरहेको जानकारी दिए पनि दुईवटा जहाजले एकैपटक उडान भर्न सक्दैनन् ।

चीन सरकारसँग नेपाल सरकारले सम्झौता गरेर ल्याएका ६ वटा विमान अहिले निगमको टाउको दुखाइको विषय बनेको छ । निगमसँग भएका १७ सिट क्षमताका ४ वटा वाइ १२ र  ५६ सिट क्षमताका दुईवटा एमए ६० विमानमा कहिले चिनियाँ भाषा बुझ्ने पाइलट नभएर अनि कहिले अन्य समस्याले गर्दा नियमित उड्न सकेका छैनन् ।

‘हामीलाई चिनियाँ जहाज उडाउन निकै समस्या भैसक्यो, कहिले पाइलट नहुने अनि कहिले कागजात नमिल्ने भएकाले ६ वटा जहाजको नियमित उडान हुन सकेको छैन’ निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले भन्नुभयो, ‘हामीले निकै कोशिस गर्दा पनि यी जहाज उडाउन सकेका छैनौं, अब कसैलाई भाडामा दिने सोचेका छौं ।’

निगमका ५६ सिटका २ वटा एम ए ६० विमानले विराटनगर, धनगढी लगायतका ट्रंक रुटमा उडान गर्न थालेपछि निजी कम्पनीका विमानले भाडा घटाएका थिए । तर अहिले भने एउटा मात्रै एमए ६० जहाज चलिरहेको छ ।

४ वटा चिनियाँ, जहाज मात्रै होइन निगमसँग भएका ३  वटा ट्वीनेटर जहाज पनि थन्किएका छन् । एउटा ट्वीनेटरको इन्जिनमा समस्या आएको छ भने अरु २ वटा ट्वीनेटरमा पनि प्राविधिक समस्या देखिएको निगमले जनाएको छ । ट्वीनेटर मर्मतको प्रयास भैरहेको पनि निगमको दावी छ ।

अहिले ९५ प्रतिशत बजार निजी क्षेत्रका विमान कम्पनीले ओगटेका छन् भने ९ वटा विमान भएको नेपाल वायुसेवा निगम जम्मा ५ प्रतिशतमा समेटिएको छ ।

अन्तर्राष्ट्रिय उडान सन्तोषजनक

आन्तरिक उडानतर्फ ९ वटामध्ये जम्मा २ वटा विमान उठाएको निगमले अन्तर्राष्ट्रियतर्फ भने ५ वटामध्ये ४ वटा जहाज उडाएको छ । बेला बेलामा बिग्रिए पनि बोइङ ७५७ ले उडान गरिरहेको छ । यस्तै २ वटा न्यारो बडी विमानले पनि उडान गरिरहेका छन् ।

निगमले ल्याएका २ वटा वाइड बडीमध्ये असार १४ गते काठमाडौं अवतरण भएको अन्नपूर्ण विमानले पनि उडान भरिरहेको छ । अर्को वाइड बडी मकालुले पनि एक दुई दिन भित्रै उडान भर्ने निगमको दावी छ । २४ अर्बको लगानीमा किनिएका यी जहाजमा २ सय ७४ सिट रहेका छन् ।

निगमले अहिले ४ वटा विमानमार्फत भारतका बैंग्लोर, मुम्बई र दिल्ली तथा कतारको दोहा, थाइल्याण्डको बैंकक, दुबई र मलेसियाको क्लालालम्पुर गरी ८ वटा गन्तब्यमा उडान भर्दै आएको छ  । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया