नेपालकै पहिलो ‘नेटवर्क आर्क’ पुल असोजसम्म बनिसक्ने

 भदौ ५, २०७५ मंगलबार ८:३२:३ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – काठमाडौंको बिजुली बजारको धोबीखोला र तीनकुनेको बागमती नदीमाथि आकर्षक पुल बनाउने काम भैरहेको छ ।

नेपालमै पहिलोपटक नेटवर्क आर्क प्रविधिबाट निर्माण गर्न लागिएको पुलले गाडी सञ्चालन सहज बनाउनुको साथै शहरको सौन्दर्यता पनि बढाउने काठमाडौं सडक विस्तार आयोजनाका प्रवक्ता ई. विश्व विजयलाल श्रेष्ठले बताउनुभयो ।

माइतीघर मण्डलादेखि भक्तपुरको सूर्यविनायकसम्मको आठ लेनको सडकमा धोबीखोला र बागमती नदीमाथि चार लेनकै पुल भएपछि नयाँ पुल बनाउन लागिएको हो । माइतीघर–तीनकुने सडकखण्डलाई आठ लेनसहितको आकर्षक नमूना सडक बनाउने उद्येश्यअनुुरुप ‘नेटवर्क आर्क ब्रिज’ निर्माण गर्न लागिएको योजना प्रमुख दिपक केसीले जानकारी दिनुभयो ।

 

वि.सं. २०७१ साल पुषमा सुरु गरेर २०७४ पुसमा निर्माण सम्पन्न गर्ने गरी योजना रहेपनि अहिलेसम्म निर्माण कार्य सम्पन्न हुन सकेको छैन । सुरुवातीका डेढ वर्ष डिजाइन बनाउनमा नै लागेको र त्यसपछिका दुई वर्ष ढल, पानी, पोल आदि व्यवस्थापनमा खर्च भएका कारण गएको फागुनदेखि मात्र काम सुरु गरिएको योजनाका प्रवक्ता श्रेष्ठले बताउनुभयो । यी पुलको डिजाइन बंगालादेशको निर्माण कम्पनी डीपीएनबाट परीक्षण गराइएको हो ।

नेपालमा यस्तो पुल पहिलो भएकाले यहाँ अनुभवी कन्सल्टेन्ट नहुँदा बंगलादेशबाट गराउनुपरेको प्रवक्ता केसीले बताउनुभयो । धोबीखोलामा ५१ मिटर लम्बाई र १२ मिटर चौडाई गरी दुईवटा र बागमती नदीमा ८५ मिटर लम्बाई र १२ मिटर चौडाईका दुईवटा गरी चारवटा यस्ता पुल बन्दैछन् ।

१३ करोड १४ लाखको ठेक्का सम्झौतामा बागमतीमाथिको आर्क पुल निर्माणको जिम्मा पप्पु कन्ष्ट्रक्सनलाई र २१ करोडको ठेक्का सम्झौतामा धोबीखोलामाथि बनिरहेको आर्क पुलको निर्माण जिम्मा जई कन्ष्ट्रक्सनलाई दिइएको श्रेष्ठले बताउनुभयो ।

अहिले धोबीखोलामाथि एकातर्फ मात्र आर्क ब्रिज बनिरहेको छ । यो पुलको निर्माणकार्य ४५ प्रतिशत सम्पन्न भइसकेको र आउँदो असोजसम्म सम्पन्न गरिसक्ने लक्ष्य छ । तर अर्कोतर्फ भने जग्गामा केही विवाद देखिएकाले अहिले निर्माण कार्य सुरु नगरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यस्तै बागमती खोलामाथिको आर्क पुल निर्माणको काम भनसुरु गर्न अझै केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।

के हो नेटवर्क आर्क ब्रिज ?

पुलको भार पिल्लरमा नभई आर्कले बहन गर्ने पुललाई आर्क ब्रिज भनिन्छ । आर्क भन्नाले पुलको माथिको घुमाउरो भागलाई जनाउँछ । यस प्रविधिमा बन्ने पुलहरु जतिसुकै लामो भए पनि दुई छेउबाहेक बीचमा पिल्लर राख्नु पर्दैन ।

र नेटवर्क आर्क ब्रिजमा पुलको भार बहन गर्नका लागि आर्क र पुलको बिमलाई फलामे ह्याङगरहरुको नेटवर्कले जोडिन्छ । यसले गाडीको भारलाई एउटै ठाउँमा सीमित नगरी चारैतिर फैलाएर राख्ने हुदा बढी भार क्षमता पनि थेग्न सक्ने श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार यी पुलहरुलाई नेटवर्क आर्क ब्रिज भनिएता पनि अरसीसी, प्रि—स्ट्रेस र आर्क तीनवटै प्रविधि प्रयोग गरिएको हुन्छ । जसअनुसार पुलको पूर्ण भार बिम, केबल वायर र आर्कले संयुक्तरुपमा बहन गर्दछ । अन्य पुलमा जस्तो पिल्लरलाई नदीको पानीको बहाबले हल्लाएर पुल भत्किने डर यस्तो पुलमा रहँदैन ।

अहिलेसम्म नेपालमा बनेका पुलहरु आरसीसी वा प्रि—स्ट्रेस प्रविधिमा अधारित भएको श्रेष्ठले बताउनुभयो । आरसीसी प्रविधिको प्रयोग गर्दा २५ मिटरको दुरीमा पिल्लर राख्नुपर्छ भने प्रि—स्ट्रेस प्रविधिमा आइपुग्दा ४० देखि ५० मिटरमा पिल्लर राखे हुन्छ ।

अहिले भित्र्याइएको आर्क प्रविधिमा चाहिँ बीचमा पिल्लर राख्नुपर्दैन । ‘यो ब्रिज नेपालकै पहिलो नेटवर्क आर्क ब्रिज हो’ श्रेष्ठले भन्नुभयो, ‘यस्तै पुल मुग्लिनमा बनिरहेको छ, तर त्यो पुल नेटवर्क आर्क नभई आर्क मात्र हो । त्यस पुललाई फलामको नेटवर्कले यसरी झुण्ड्याइएको हँुदैन ।’ 

अन्तिम अपडेट: बैशाख ३, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया