मकालु बरुण निकुञ्ज क्षेत्रमा जंगली जनावरको आंतक : बाली रुँग्न जाँदा मान्छेमाथि आक्रमण

 भदौ ५, २०७५ मंगलबार ९:१५:५० | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा — पूर्वी पहाडी जिल्लाहरु संखुवासभा र सोलुखम्बुमा फैलिएको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा भालुको आंतक बढेको छ ।

खेतबारीमा लगाएको मकैलगायतका अन्नबाली खान नपाएपछि भालुले मानिसलाई नै आक्रमण गर्न थालेको छ । आइतबार सोलुको महाकुलुङ गाउँपालिका वडा नम्बर–३, बोक्सुवारमा भालुको आक्रमणबाट स्थानीय पासाङदावा शेर्पा घाइते हुनुभएको छ ।

उहाँलाई आइतबार राति भालुले आक्रमणमा गरी घाइते बनाएको हो । खेतबारीमा लगाएको मकै भालुले सखाप पारेपछि बारीमा मकै रुघ्न बसेको बेला भालुले उल्टै आफूलाई आक्रमण गरेर घाइते बनाएको शेर्पाले बताउनुभयो ।

‘गाउँभरिका मानिसहरु रातभरि सुत्दैनौं, एकछिन सुत्न गए बारीमा पाक्न लागेको मकै सबै सखाप हुन्छ’, शेर्पाले भन्नुभयो, ‘दिनको समयभन्दा रातको समयमा भालु मकै खान बढी आउन थालेको छ । केही समय अघिसम्म दिउँसो आउँथ्यो, दिउँसो धेरै मान्छे डिउटी बस्न थालेपछि राति आउन थालेको छ । राति भालु लखेट्न होहल्ला गर्दै कराएको थिएँ, भालुले उल्टै आफै माथि आइलाग्यो । अरु गाउँलेहरु आएर बचाए ।’

‘मकै खान मानिसकोभन्दा ठूलो बथान नै भालु आउन थालेको छ । मकैबारीमा दुई÷चार जना मात्रै छौं भने भालुले हामीहरुलाई लखेट्छ’, शेर्पाले गुनासो गर्नुभयो । यसअघि पनि छेस्कामका धेरै जनालाई भालुले आक्रमण गरेर घाइते बनाइसकेको छ । यसरी भालुको आक्रमणबाट बर्सेनि धेरै जना घाइते हुने गरेको स्थानीय शेर्पाले जानकारी दिनुभयो ।

भालुको आक्रमणबाट गम्भीर घाइते भएका शेर्पाको शरिरका विभिन्न भागहरुमा ठूला–ठूला चोट र घाउ भएको छ । उहाँको तत्कालै सुविधासम्पन्न अस्पतालमा उपचार गराउनु पर्ने भए पनि जडिबुटीको भरमा घरमा नै उपचार गरिराख्नुभएको छ ।

‘उपचार गर्न जान गाउँदेखि ५÷६ घण्टा टाढा छेस्काम उप–स्वास्थ्य चौकी पुग्नुपर्छ । हिँडेर जान सक्दिँन, गाउँका साथीभाइलाई बोकाएर लैजान गोरेटो बाटो समेत राम्रो छैन । बोक्ने सक्ने बलियो मान्छे पाउन पनि मुस्किल छ’, शेर्पाले मन्द स्वरमा भन्नुभयो ।

त्यस क्षेत्रका बाटो अत्यन्तै अप्ठ्यरो र भिरालो भू–भागमा रहेको छ । त्यस क्षेत्रमा पातलो गाउँबस्ती भएकाले बोक्ने मान्छे पाउन समेत समस्या रहेको छ । होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न गाउँभरिका मानिसहरु भेला हुने गरेको उहाँको भनाई छ । गाउँ माथिबाट मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रले ढाकेको छ । निकुञ्ज क्षेत्रमा वन्यजन्तुहरु प्रशस्त छन् ।

वन्यजन्तु मा¥यो भने उल्टै कानुन लाग्छ भनेर वन्यजन्तुको हानीनोक्सानी सहन बाध्य भएको उहाँले बताउनुभयो । मानवीय सुरुक्षा पहिलो कुरो भएको भन्र्दै स्थानीयहरु आत्मरक्षा र आफ्नो पशु तथा अन्नबालीको सुरक्षाका लागि मध्यवर्ती क्षेत्रको संवेदनशिल क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले बन्दुक राख्न पाउनु पर्ने उहाँहरुको माग छ ।

सरकारले वन्यजन्तुको संरक्षण गर्न आवश्यक छ तर स्थानीय गाउँलेहरुको पीडा र पीरमार्का समेत सरकारले बुझ्नु पर्ने उहाँहरुको भनाई छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा भालु मात्रै होइन, बाँदर र चितुवालगायत अन्य जङ्गली जनावरहरुको समेत बिगबिगी बढेको छ ।

निकुञ्ज क्षेत्र भित्रका स्थानीयहरुले वार्षिक रुपमा ठूलो हानी नोक्सानी व्यर्होर्न बाध्य भइरहेका छन् । निकुञ्ज क्षेत्र भित्र वन्यजन्तुको आक्रमणबाट घाइते भएमा अवस्था हेरेर क्षतिपूर्ति पाउने मकालु बरुण राष्ट्रिय निकुञ्जका रेञ्जर लाकपाद कुलुङ्गले बताउनुभयो ।

उहाँको अनुसार सामान्य र गम्भीर घाइतेको अवस्था हेरेर उपचार खर्च १० हजारदेखि २ लाख रुपैयाँसम्म पाउने व्यवस्था छ भने ज्यान गएमा ५ लाख रुपैयाँ पाउने कानुनी व्यवस्था रहेको छ ।

क्षतिपूर्ति प्राप्त गर्नका लागि निकुञ्जका सम्बन्धित सेक्टरबाट मुचुल्का उठाएर वडा र गाउँपालिकाले सिफारिस गर्नु पर्ने समेत उहाँले जानकारी दिनुभयो ।पशुचौपयाको राहत सुविधा पाउने व्यबस्था भए पनि अन्नबालीको कुनै क्षतिपूर्तिको व्यवस्था कानुनमा नरहेको उहाँले बताउनुभयो । वि.सं. २०३२ सालमा स्थापना भएको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्र १ हजार ५ सय हेक्टर क्षेत्रफलमा संखुवासभादेखि सोलुखम्बुसम्म फैलिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

1 Comments

  • RD Kulung

    Aug. 21, 2018, 11:44 a.m.

    राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरले बार्षिक करोडौं करोडको क्षति मध्यवर्ती क्षेत्रका मानिसहरुलाई पुर्याउँदै आएको छ । मकै, धान, कोदो, गहुँ, आलु जस्ता अन्नबाली मात्रै होइन, केरा, सुन्तला, अम्बा आदि फलफुल खाए दिन्छ । चौरी, गाई, भैँसी, भेडा, बाख्रा, कुखुरा, बङ्गुर, हाँस जस्ता पशु पंक्षी पनि लाखौंको खाइदिन्छ, मार्छ, चोट पुर्याउँछ । अलैँची, खुर्सानी, तरकारी जस्ता नगदेवालीमा उस्तै करोडौंको क्षति जङ्गली जनावरबाट पुग्दै आएको छ । अन्नबाली, पशुधन मात्रै होइन, मानिस पनि बाघ, भालु, चितुवा, बाँदर, बँदेल, दुम्सी, मृग आदिको निसानामा पर्दै आएका छन् । मानिस कै ज्यान गइरहेको छ । प्रकृतिमा भएका जङ्गली जनावरहरुको संरक्षण हुनुपर्छ । पारिस्थितिकीय सन्तुलनका लागि पनि यो आवश्यक छ । नेपालले राखेको अन्तराष्ट्रिय प्रतिवद्धताहरु पुरा गर्नका निम्ति पनि कतिपय यो काम गर्नु परेको छ । तर यसरी पारिस्थितिकीय सन्तुलन र अन्तराष्ट्रिय प्रतिवद्धताहरु पुरा गरिरहँदा मानवीय सुरक्षा जोखिममा पर्नु हुन्न । पहिलो सुरक्षा मानिसको हुनु पर्दछ । मानिस मारेर, मान्छेको धन सम्पत्तिमा क्षति पुर्याएर जङ्गली जनावरको संरक्षण कुनै हालतमा उचित होइन । राष्ट्रिय निकुञ्ज र सरकारले मध्यवर्ती क्षेत्रका मानिसहरु ज्यान र अन्नबाली तथा पशुधनको सुरक्षाको विशेष प्रवन्ध गर्नु आवश्यक छ । जङ्गली जनावरको आक्रमणमा परेर मृत्यु हुनेलाई उचित राहत र घाइतेलाई औषधि उपचार त छँदैछ । अन्नबाली, नगदेबाली, फलफूल र पशुधनको बीमा गरिदिनु पर्छ । त्यस्तै जङगल नजिक बसोबास गरेकाहरुलाई आत्म रक्षका लागि हतियार राख्न राज्यले दिनुपर्छ । मानिसको सुरक्षा पहिले अनि मात्रै जङ्गली जनावरको । आरडी कुलुङ, मकालु–१, संखुवासभा

  •  0 Reply

तपाईको प्रतिक्रिया