दशरथ रंगशाला निर्माणका लागि १० करोड बजेटविनियोजन

 जेठ १७, २०७५ बिहिबार १६:२९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १७ – सरकारले दशरथ रंगशालाको मर्मत/सम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले दशरथ रंगशालासहित विभिन्न कभर्ड हलहरुको मर्मत संहार तथा स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा १० करोड बजेट विनियोजन गरिएको जानकारी दिनु भएको हो । उहाँले खेलाडीहरुको सेवा र सुविधाका लागि सरकारले दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमाको लागि पनि आवश्यक बजेटको व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।

मन्त्रालयले गत चैत्र २३ गते सार्वजनिक गरेको कार्ययोजनाको कार्य प्रगति विवरण सार्वजनिक गर्न विहिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको काम र सबै प्रदेशमा प्रादेशिक रंगशाला निर्माणको कामलाई पनि अघि बढाइएको बताउनुभयो ।

मन्त्री विश्वकर्माले संघीय ढाँचा अनुकूल हुने गरी राष्ट्रिय खेलकुद नीतिको मस्यौदा तयार पारिएको पनि बताउनुभयो । युवा तथा खेलकुद मन्त्रालयले १२ बर्से खेलकुद गुरुयोजना पनि तयार पारेको छ । मन्त्री विश्वकर्माले बजेट निर्माणको काममा केन्द्रित हुनु परेकाले राष्ट्रिय खेलकुद नीतिको मस्यौदालाई अन्तिम रुप दिन नसकिएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री विश्वकर्माले युथ भिजन, २०२५ को कार्यान्वयन कार्ययोजना पनि तय गरिएको बताउनुभयो । त्यसैगरी मन्त्रालयले राष्ट्रपति महिला उद्यम कार्यक्रम सञ्चालन कार्यविधि निर्माण गरेको, उपराष्ट्रपति युवा पुनस्र्थापना कार्यक्रम सञ्चालन कार्यविधि स्विकृत गरिएको पनि उल्लेख गरेको छ ।

मन्त्री विश्वकर्माले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई पनि तीब्रता दिइएको बताउनु भयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Phali Tamu

    June 11, 2018, 11 p.m.

    Euta Internaional standard ko Stadium Nepal ma chhaina. Beijat ! Exmaple; Brunei jasto ra Singapore jasto saano desh ma Int"l satandard ko stadium Dozen badhi chhan. Tyo bhanda kati thulo hamro Nepal ma Euta pani Nahunu ra bhayko lai pani Marmat garna etro thulo kasrat ? Oho, sunda pani kya dimak kharab hunchha baaa....!

  •  0 Reply

तपाईको प्रतिक्रिया