नेपालले साउदी अरबलाई ६ विकेटले हरायो, हङकङ पनि सेमिफाइनलमा
बैशाख ५, २०८१ बुधबार
सिरहा – सिरहाको गोलबजार नगरपालिका –१०, बाट ११ दिनअघि घरबाटै अपहरित ५७ वर्षीय कारीदेवी यादवको खोजतलासमा प्रहरीले चासो नदेखाएको भन्दै मंगलबार अपरान्ह पूर्व–पश्चिम लोकमार्गमा सडकमै टायर बालेर एक घण्टा अवरुद्ध गरेको छ ।
गएको साउन २५ गते बेलुका आठ बजे भतिजो (दिदीको छोरा) बिरामी छ, छिटो हिँड भन्दै अपरिचित व्यक्तिले मोटरसाइकलमा चढाएर लगेको यादव खोजीमा प्रहरीले तदारुकता नदेखाएको भन्दै पूर्व–पश्चिम लोकमार्गको चोहर्वा बजारमा सडक अवरुद्ध गरेका हुन् ।
स्थानीयले गरेको सडक अवरुद्धका कारण सयौं सवारी रोकिएको स्थानीय किशोरी यादवले बताउनुभयो । आक्रोशित बन्दकर्ताले प्रहरी प्रशासन विरुद्ध चर्को नारावाजी गरेका थिए ।
स्थानीयले भने कारीदेवीलाई आफ्नै भतिजा लक्ष्मण यादव र जेठाजु रामदेव यादवले नै अपहरण गराएको आरोप लगाएको छ । उनीहरुबीच अंशमुद्दा चल्दै आएको र कोही नभएको महिला हराउँदा समेत गाउँघरमा कसैलाई सहयोग मागी खोजीनीति गर्नुको सट्टा घरैमा वसिरहनुले पनि उनीहरुमाथि आशंका बढेको छिमेकी कमलेश रायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नै काकी घरबाटै कसैले उठाएर लगेको छ, तर उ कसैलाई नभनी चुपचाप घरमै बसिरहनुले पनि आशंका उब्जाएकोछ । ’
प्रहरीले लक्ष्मण र लक्ष्मणका बुवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरी कारबाही गर्ने प्रतिवद्धतापछि बन्द खोल्न स्थानीय सहमत भएको वडा अध्यक्ष देवनारायण महतोले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामी प्रहरीसँग छलफलमा छौँ, स्थानीयको लक्ष्मण र उनको बुवामाथि नै किटानी जाहेरी दिनुपर्छ भन्ने माग गरिरहेको छ, प्रहरीले यो घटनालाई गम्भीरताका साथ लिएको भन्दै खोजी कार्यलाई अझ तीव्रता दिने जनाएको छ ।’
विवाह गरे पनि सन्तान नपाई पति गुमाएकी कारीदेवी जेठाजुकै घरमा बस्दै आउनुभएको थियो । पछि उहाँलाई दुःख दिन थालेपछि छुट्टै बसेकी उहाँले जेठाजु रामदेव यादवमाथि अंशमुद्दा हाल्नुभएको थियो । उहाँले जिल्ला अदातल सिरहाबाट मुद्दा जिती यही जेष्ठ २८ गते घडेरी र खेत गरी १२ कठ्ठा जमिन पाएको भतिजा लक्ष्मण यादवले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय गोलबजारले कारीदेवीको भतिजा लक्ष्मणले हराएको भनेर ठाडो निवेदन दिएको बताएको भए पनि आफूहरुले घटनाको गम्भीर रुपमा अनुसन्धान गरिरहेको जनाए को छ ।