मलेसियाले पठायो एमओयूको प्रस्ताव : कामदार लैजाँदा लाग्ने शुल्क रोजगारदाताले नै व्यहोर्ने

 भदौ ५, २०७५ मंगलबार १७:०:३८ | सन्जिता देवकोटा

काठमाडौं – मलेसियाले नेपाली कामदार लैजाँदा सबै खर्च रोजगारदाताले नै व्यहोर्ने प्रस्ताव नेपाल समक्ष राखेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार मलेसियाले शनिबार द्विपक्षीय समझदारी (एमओयू) गर्न पठाएको औपचारिक प्रस्तावमा नेपाली कामदार लैजाँदा लाग्ने सबै शुल्क रोजगारदाताले नै व्यहोर्ने प्रस्ताव गरेको हो । 

मलेसिया जाने कामदारसँग विभिन्न बहानामा चर्को शुल्क लिएको भन्दै सरकारले गएको जेठ ३ गतेदेखि नेपाली कामदार मलेसिया पठाउन रोकेको छ । 

एक महिनाभित्र श्रम सम्झौता हुन सक्ने

मलेसियाले गरेको प्रस्तावमाथि छलफल भैरहेको मन्त्रालय स्रोतले जनाएको छ । पछिल्लोपटक नेपालले उठाएका कामदारका मुद्दा सम्बोधन हुने गरी मलेसियाले एमओयूको प्रस्ताव गरेकाले बढीमा एक महिनाभित्र श्रम सम्झौता हुन सक्ने मन्त्रालय स्रोतको भनाई छ । 

मलेसियाको रोजगारीमा देखिएका समस्याको दिर्घकालिन समाधान खोज्दै सरकार

मलेसियाले सुरुवातमा नेपाली कामदारका समस्यामा खासै चासो नदिए पनि पछिल्लो समय मलेसिया नै समस्या समाधानमा अघि बढेको छ । 

मलेसियाका प्रधानमन्त्री महाथीर मोहमदले मलेसियाले बङ्गलादेशसँग जस्तै नेपालसँग पनि सरकारी स्तरबाटै(जीटूजी) मार्फत नै कामदार लैजान तयार रहेको बताइसकेका छन् । 

नेपाली कामदार लैजान नेपाल सरकारको निर्णयभन्दा विपरित जान नसक्ने भन्दै महाथीरले नेपाल कामदार पठाउन इच्छुक रहेको र आफूहरु पनि नेपाली कामदार ल्याउन तयार भएकाले जीटूजी गर्न आतुर रहेको बताएका थिए । 

यसैगरी, मलेसियाले आप्रवासीका श्रमिकको स्वास्थ्य परीक्षणमा काम गर्दै आएको एजेन्ट कम्पनी बेस्टिनेट खारेज गरिसकेको छ । यो कम्पनीले भिसा र अन्य प्रक्रियाका नाममा नेपाली कामदारसँग धेरै रकम असुलेको पाइएपछि नेपाल सरकारले यससँग सम्बधित नेपालमा रहेको सबै कम्पनीलाई खारेज गर्दै कामदार पठाउन रोक लगाएको हो । 

जीटूजीमार्फत कामदार पठाउदाका फाइदा

वैदेशिक रोजगारीको क्षेत्रमा अहिले देखिएको मुख्य समस्या ठगी हो । चाहे त्यो सरकारले तोकेको भन्दा धेरै पैसा लिएर होस् या नेपालमा भनिए अनुसारको काम नदिएर । 

सरकारले यही समस्या कम गर्न भन्दै मलेसिया र खाडीका ६ देशमा चार वर्षअघि फ्रि भिसा, फ्रि टिकटको निर्णय गर्‍यो । त्यसपछि म्यानपावरहरुले ती देशहरुमा जाने कामदारसँग १० हजार रुपैयाँभन्दा धेरै लिन नपाउने भनियो । त्यो यो व्यवस्था पूर्ण रुपमा कार्यन्वयन हुन सकेन । 

मलेसियासँग जीटुजीको तयारी : कामदारलाई के फाइदा हुन्छ ?

नेपालमा म्यानपावरले एउटा काम भनेर सम्झौता गरेपनि विदेश पुगेपछि अर्कै काम गर्नु परेर वर्षेनि हजारौं नेपाली समस्यामा परिरहेका छन् । जीटूजीमार्फत कामदार पठाउँदा यस्ता समस्यामा पर्ने सम्भावना कम हुन सक्छ ।

यसमा माग ल्याउँदा सरकार मार्फत नै ल्याइने भएकाले भनेको काम नपाइने भन्ने हुँदैन । नेपालमा जे काम भनिएको छ, सम्बन्धित देशमा पुगेपछि त्यही काम पाइन्छ । 

कति तलब पाइने भन्ने कुरा पनि जानुअघि नै निश्चित हुन्छ । त्यसैले त्यहाँ पुगेपछि भनिएको काम र तलब नपाउने चिन्ता हुँदैन । जीटूजी प्रक्रियामा तेस्रो पक्ष सहभागी नहुने भएकाले कामदार समस्यामा परिहाले सरकारी तवरबाटै समाधान गरिन्छ । 

याे पनि पढ्नुहाेस्

नेपाली कामदार लैजान जीटूजी सम्झौता गर्ने मलेसियाको तयारी, मन्त्री कुलासेगरन नेपाल आउने (भिडियो)

 

अन्तिम अपडेट: चैत २९, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • arjun pun

    Aug. 22, 2018, 9:25 a.m.

    यो सबै त एकदमै राम्रो भयो तर मलेसिया मा तेहाको लोकल र काले चोरी र लुटपाट गर्ने गर्छन यस्को पनि कुनै उपाए खोजे अझै राम्रो हुनेथियो धन्यवाद ।

  •  0 Reply

तपाईको प्रतिक्रिया